
नेपालले कोभ्याक्समार्फत २० लाख बढी डोज कोरोनाविरुद्धको खोप पाउने भएको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले २० लाख भन्दा बढी डोज भ्याक्सिन नेपालले पाउन लागेको जानकारी दिएकी हुन् । उनका अनुसार आगामी महिना खोप नेपाल आउनेछ ।
‘बेलायत सरकारको कोभ्याक्सलाई करिब साढे सात खर्ब (५५० मिलियन पाउण्ड) रकमको सहयोगले नेपाललाई २० लाख भन्दा बढी डोज खोप आगामी महिनामा आइपुग्ने भएकोले निकै हर्षित छु’, उनले ट्वीटरमार्फत भनेकी छिन्, ‘ नेपाल सरकार परराष्ट्र मन्त्रालयल, विश्व स्वास्थ्य संगठन नेपाल र युनिसेफ नेपालसँगको सहकार्यमा खोप वितरण हुनेछ ।’
कोभ्याक्स विपन्न मुलुकहरूले पाउने खोप सुविधा हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार यो खोप पहिलो चरणमा फागुन पहिलो साता नेपाल आइपुग्नेछ । यसअघि भारतले अनुदानमा दिएको अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नै यो सुविधाअन्तर्गत आउने बताइएको छ ।