
प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कसैले तलमाथि गर्न नसक्ने जिकिर गरेका छन् ।
नेकपा ओली पक्षद्वारा दरबारमार्गमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले राजतन्त्र फर्काउन लागेको भनेर कुप्रचार गरिएको गुनासो गरे ।
'हिजोसम्म भन्दै थिए, आज बिहानसम्म पनि लैनचौरको बाटोमा हिँड्नेहरूले भन्दै थिए, सभाबाट ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे !' ओलीले भने, 'यो केपी ओली आधा दशकभन्दा बढी समय लोकतन्त्रका लागि लड्यो । यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ? संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई तलमाथि गर्छु भन्ने कसैले नसोचे हुन्छ ।'
उनले आफू संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेरै अघि बढ्ने दाबी गरे ।