
बाग्मती प्रदेशको राजधानी हेटौंडामा मंगलवारदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ ।
मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीको एकता गर्ने उद्देश्यले हेटौंडामा माघ २९ गतेसम्म ३ दिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो ।
समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैंगिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिइन् ।
सम्मेलनमा देशभरबाट १०० जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहनेछन् । सम्मेलनमा करीब १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ । यसअघि १ नम्बर प्रदेशमा पहिलो बेटी सम्मेलन र २ नम्बर प्रदेशमा दोस्रो बेटी सम्मेलन सम्पन्न भइसकेको छ ।
मिसन नोट अफ डिसेन्ट आभासा राष्ट्रिय अभियान केन्द्रीय सञ्जाल र मूलधार महिला सेवा केन्द्र मासबेस उदयपुरको आयोजनामा विक्रम संववत् २०७५ माघ २७ देखि २९ गतेसम्म १ नम्बर प्रदेशको उदयपुरको गाईघाटमा ‘सहन नपरोस् हिंसा र दुव्र्यवहारः शिक्षा र स्वास्थलाई बनाऔं चेलीबेटी सशक्तीकरणको हतियार’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय बेटी सम्मेलन सम्पन्न भएको थियो ।
विक्रम संवत् २०७६ माघ २७ देखि २९ गतेसम्म २ नम्बर प्रदेशको राजधानी जनकपुरमा ‘विकृतिका बन्धनहरू तोड्दै अघि बढौं, मेची–महाकाली जोड्दै हिंसारहित समाज निर्माण गरौं’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको जनाइएको छ ।