
भारतको बिहार राज्यस्थित पश्चिम चम्पारण जिल्लामा नेपाली किशोरीको बलात्कारपछि हत्या भएको छ । प्रमाण लुकाउन उनको शवसमेत जलाइएको घटना ढिलो गरी सार्वजनिक भएको हो ।
बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएको जानकारी पाएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी हेम शाहीले बताए । घटना नेपाल–भारत सीमानजिक कुन्डवा चैनपुरमा भएको हो । किशोरी चैनपुर बजारमा परिवारसँग बस्दै आएकी थिइन् । त्यहाँ उनका बाबु चौकीदारी गर्दै आएका थिए । किशोरीका भिनाजु नवलसिंह विकका अनुसार उक्त घटना २१ जनवरीको हो । कान्तिपुर दैनिकमा खबर छ ।
घटनाका बेला किशोरीकी आमा सुकुम्बासी आयोगको लगतमा नाम दर्ताका लागि नेपालमा थिइन् । ‘ससुराबुबा कामको सिलसिलामा डेराबाट बाहिर निस्किनुभएको थियो,’ नवलसिंहले भने, ‘सालो पनि बजार गएको रहेछ । त्यही मौका छोपी सालीमाथि यस्तो अपराध भयो ।’ घटनाका दिन अपराह्न ४ बजे सालो बजारबाट फर्किएपछि घरधनी सियाराम साहले डेरामा पस्न नदिएको उनले सुनाए । ‘घरधनीको कुरा नसुनी कोठाभित्र पुग्दा सुमित्रा भुइँमा ढलेकी रहिछन्,’ नवलसिंहले भने, ‘त्यसपछि उनले बाबुलाई खबर गरेका रहेछन् ।’
सुमित्राको घाँटीमा रातो डाम देखेपछि बाबुछोराले उपचार गराउन लैजाँदा स्थानीय चिकित्सकले उपचार गर्न नमानेको परिवारजनले बताए । ‘त्यसलगत्तै केही व्यक्ति भेला भएर शव जलाउन दबाब दिए र नजलाए सबैको ज्यान लिने भन्दै धम्क्याए,’ नवलसिंहले भने, ‘सादा कागजमा ससुराको औंठाछाप पनि लिए ।’ त्यसै रात जबर्जस्ती पोखर रोडको किनारामा नुन र चिनी हालेर स्थानीयले शव जलाएको उनले बताए ।
विनय साह, दीपककुमार साह, रमेश साह र देवेन्द्रकुमार साहविरुद्ध सामूहिक बलात्कार र हत्याको आरोप लगाइएको छ । घरमालिक साहसहित अन्य ७ जनाविरुद्ध जबर्जस्ती शव जलाएर प्रमाण नष्ट गरेकामा मुद्दा दर्ता गरिएको नवलसिंहले बताए ।