
सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ को बजेटको आकार घटाउँदै १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ कायम गरेको छ ।
बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न अर्थमन्त्रालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
सरकारले गत जेठ १५ गते चालू आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो ।
६ महिनासम्म बजेट कार्यान्वयनको अवस्था र बाँकी अवधिको अनुमानका आधारमा बजेट संशोधन गरिएको हो ।
सरकारले चालू आर्थिक वर्षमा आर्थिक गतिविधि बढ्ने भन्दै सार्वजनिक खर्चमा सुधार हुने अपेक्षा पनि गरेको छ । ९१.१९ प्रतिशत बजेट खर्च हुने अनुमान सरकारको छ ।
पछिल्लो ६ महिनाको खर्चको अनुमान गर्दा कोरोना भाइरस (कोभिड–१९)को महामारीको जोखिम घटेको, कोभिडविरुद्ध खोपको शुरूआत भएको भन्दै सरकारले आर्थिक क्रियाकलाप बढ्दै जाने विश्वास व्यक्त गरेको छ ।
मन्त्रालयका अनुसार चालू आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख बजेटमा पुस मसान्तसम्म ४ खर्ब १५ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ ।
मन्त्रालयले निर्माणाधीन आयोजनाले गति लिने, गत वर्ष सम्पन्न हुन नसकेका आयोजनाको ठेक्का म्याद थप भएको र प्रतिनिधि सभा सदस्य निर्वाचन घोषणा भएकाले खर्चमा सुधार हुने अनुमान गरेको हो ।
मन्त्रालयले चालू आवको पहिलो ६ महिनामा शुरू भएका केही ठूला आयोजना/कार्यक्रमहरूको कार्यान्वयनले पछिल्लो समयमा तीव्रता पाएको समेत जनाएको छ ।