
सामान्यतया शेयर मार्केटको कारोबारलाई जटिल मानिन्छ । अलिकति पनि ख्याल पुर्याउन सकिएन भने लगानी डुब्ने खतरा पनि रहन्छ । तसर्थ शेयर मार्केटमा परिपक्व व्यक्तिले कारोबार गर्नुपर्ने मानिन्छ ।
तर दक्षिण कोरियाका १२ वर्षीय क्वन जुन जुनले शेयर बजारमा कारोबार गरेर धेरै कमाइ गरेका छन् । उनले आमासँग जिद्दी गरेर ‘रिटेल ट्रेडिङ अकाउन्ट’ खोलिमागे । त्यसपछि उनले १६ लाख रुपैयाँ शेयर मार्केटमा लगानी गर्न पनि आमालाई राजी गराए ।
शेयर मार्केटमा लगानी गरेर १२ वर्षीय क्वनले ४३ प्रतिशत नाफा कमाएका छन् । क्वनले शेयर मार्केटबाटै संसारका धनी व्यक्तिको सूचीमा नाम लेख्ने सपना समेत देख्न थालेका छन् ।
क्वनले मेमोरी चिप बनाउने संसारको सबैभन्दा ठूलो कम्पनी ककाओ कर्प, सामसुङ सहितका कम्पनीमा पैसा लगाए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्वनले लामो समयको लगानीमा ध्यान दिएका छन् ।
रोयटर्सको रिपोर्ट अनुसार कोरोना भाइरस संक्रमणको महामारीका क्रममा क्वन जस्तै कम उमेरका बालबालिकाले शेयर बजारमा पैसा लगाउन शुरू गरेका थिए ।
क्वनकी आमा ली ऊन जुले भनिन्, ‘म सोध्न थालेकी छु कि आजको जमानामा कलेजको डिग्री बढी महत्त्वपूर्ण छ ?’ क्वनको सफलतामा उनी आमा लीको ठूलो योगदान रहेको रिपोर्टमा उल्लेख छ । लीले आफ्ना छोरालाई ट्युसन पठाउन छाडेर रुचीमा ध्यान दिन प्रेरित गरेकी थिइन् ।