
विदेशी लगानीमा स्थापना हुने कम्पनी तथा उद्योगको दर्ता, सम्भाव्यता अध्ययन तथा पूर्वसञ्चालन खर्चबापतको विदेशी मुद्रा भित्र्याउन अब नेपाल राष्ट्र बैङ्कको स्वीकृति लिनु नपर्ने प्रस्ताव गरिएको छ । राष्ट्र बैङ्कले विदेशी लगानी भित्र्याउन सहजीकरण गर्दै ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७’ मस्यौदा आइतबार सार्वजनिक गर्दै आवश्यक सुझावका लागि आह्वान गरेको छ ।
मस्यौदामा उल्लेख भएअनुसार सम्भाव्यता अध्ययन तथा पूर्वसञ्चालन खर्चका लागि नेपालस्थित प्रतिनिधिको बैङ्क खातामा विदेशी मुद्रा जम्मा गराइदिन सक्ने व्यवस्था गरिएको छ । पूर्वसञ्चालन खर्चका रूपमा विदेशी लगानीमा स्थापना हुने कम्पनी तथा उद्योगको चुक्ता पुँजीको दुई प्रतिशत मात्र पठाउन सक्ने व्यवस्था मस्यौदामा उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैङ्कअन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले विदेशी लगानी भित्र्याउन सहजीकरणका लागि यो व्यवस्था गर्न लागिएको बताएको खबर गोरखापत्रमा छापिएको छ।