
चीनको वुहानमा कोरोनाभाइरसको उत्पत्तिका विषयमा तथ्य खोज गर्न गएको विश्व स्वास्थ्य संगठनको टोलीका सदस्य एक वैज्ञानिकले अमेरिकी गुप्तचर सूचना गलत रहेको बताएका छन् ।
वैज्ञानिक पिटर दास्जाकले मानिसलाई अमेरिकी सूचनामा धेरै निर्भर नरहन आग्रह गरे । अमेरिकाका राष्ट्रपति जो बाइडन चीनप्रति कठोर देखिनुपर्ने बाध्यता रहेको पनि उनले बताए ।
वाशिङटनले कोरोनाभाइरस वुहानको प्रयोगशालाबाट चुहिएको भन्ने षड्यन्त्र सिद्धान्तलाई समर्थन गरेको छ ।
तर दास्जाकले चीनको पक्षमा मत राख्दै अमेरिकी सिद्धान्तलाई गलत बताएका छन् ।
अमेरिकी गुप्तचरीका विषयमा बोल्दै उनले भने, ‘ट्रम्पको शासनमा त्यो अव्यवस्थित थियो र धेरै कुरामा गलत ठहरियो ।’
आफूले ह्वाइट हाउसलाई खुशीका साथ सहयोग गर्ने तर बाइडन प्रशासनले पहिला विश्वास गर्ने अनि पुष्टि गर्ने काम गर्नुपर्ने उनले बताए ।
चीनले महामारीको आरम्भिक दिनहरूमा चीन पारदर्शी नरहेको विषयमा केही कुरा टुंगो नलागेको भनी अमेरिकाको परराष्ट्र मन्त्रालयले बताएको छ र विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानलाई अमेरिकाले शंका गरेको छ ।
मंगलवार संगठनको टोलीले बेइजिङकै तर्कलाई समर्थन गर्दै भाइरस प्रयोगशालाबाट नचुहिएको बतायो अनि बाहिरबाट ल्याइएको जमेको मासुमार्फत भाइरस भित्रिएको भनी चीनले अघि सारेको सिद्धान्तलाई समर्थन गरेको छ ।