
नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले कार्यकारी प्रधानमन्त्रीको असिस्टेन्ट जस्तो भूमिका खेलेका कारण राष्ट्रपति विद्या भण्डारीविरुद्ध बोलेको बताएकी छन् ।
सार्वजनिक पदमा बसेको व्यक्तिको लिंग (महिला वा पुरुष) नहुने भन्दै उनले आफूले बोल्न नछाड्ने बताइन् ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल समूह)ले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले राष्ट्रपतिलाई खलपात्रको संज्ञा दिँदै उनीविरुद्ध बोल्ने बताएकी हुन् ।
राष्ट्रपति भण्डारीविरुद्ध विवादास्पद् अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना हुँदै आएको छ ।
‘कार्यकारी प्रधानमन्त्रीको असिस्टेन्ट जस्तै एउटा कोठामा बसेर निरंकुशताको साक्षी बनेको पात्रका विरुद्ध बोल्न पाइन्छ । एउटा खलपात्रका विरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’ झाँक्रीले भनिन्, ‘एउटा अहंकारी सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । कुनै पदमा लिंग हुँदैन सार्वजनिक पद हो ।’
नेतृ झाँक्रीले ओली कागजी बादशाह भएको टिप्पणी गरिन् । ‘अन्तिम समयमा राज्यको सम्पत्ति दोहन गर्दै कागजका अग्ला बुख्याँचा बनाउँदैछन्,’ उनले भनिन् ।
उनी सम्बोधनका लागि मुखमा कालो टेप टाँसेर पोडियममा पुगेकी थिइन् ।
