
चिसोचिसो मौसममा यूएनपार्क पारि बाग्मती नदी किनारमा वृद्धवृद्धासहित केही मानिस घाम तापेर कुराकानी गरिरहेका थिए ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको सभाका लागि भनेर काठमाडौं आएका उनीहरू सभास्थलभन्दा निकै पर आराम गर्दै गरेको अवस्थामा भेटिए ।

कुराकानी गर्दा थाहा भयो– उनीहरू आएका रहेछन् रौतहटको चन्द्रनिगाहापुरबाट ।
बेलुका ८ बजे चपुरबाट गाडी चढेको र बिहान ६ बजे काठमाडौं ओर्लिएको महेश राय यादवले बताए ।
केहीबेर जुलुसमा पनि हिँडेको बताउँदै उनले खुट्टा दुखेपछि नदी छेउमा आएर बसेको बताए ।

‘आमाले पशुपति दर्शन गर्ने भन्दै हुनुहुन्थ्यो । गाडी आउने भएपछि चढेर आयौं । बिहान पशुपतिको दर्शन गर्यौं । जुलुसमा २० मिनेट हिँडेपछि खुट्टा दुख्यो अनि गाडी छेउमै आएर बसेका छौं ।’
सँगै रहेकी एक महिलाले थपिन्– ‘हम् पशुपति घुमके अइली । आन्दोलन देखेगेलली और आन्दोलन भी कैली ।’
अर्थात् पशुपति पनि घुम्यौं, आन्दोलन पनि गर्यौं ।
उनीहरूलाई अब कतिबेला घर फर्किने हो भन्ने प्रतीक्षा छ ।

यहाँसम्म कि एकजना वृद्ध त आज कुन नेता बोल्ने हुन् भनेर प्रश्न गर्दै थिए ।
‘आज केपी ओली आउने हुन् कि प्रचण्ड ?’
उनको प्रश्नको जवाफ सँगै रहेका अर्का व्यक्तिले दिए– ‘प्रचण्ड हुन्, हामी उनैको भाषण सुन्न आएको ।’
चपुरकी ओमकुमारी मगरलाई आन्दोलनमा जानुपर्छ भनेर ल्याए । तर आफूलाई टाउको दुखेकाले जुलुसमा सहभागी नभएको उनले बताइन् ।
त्यहीँ भेटिएकी उर्मिला महतोले पनि बिहान पशुपतिको दर्शन गरिन् ।
बाग्मती नदी निकै फोहोर देख्दा भने उनलाई दुःख लाग्यो ।
‘बाग्मतीको पानी निकै गन्धा रहेछ,’ उनले लोकान्तरसँग भनिन् ।
गाडीवालालाई भाडाकै ध्यान

महोत्तरीको साम्सी गाउँपालिकाका रामबाबु ठाकुरले आमसभाका लागि भनेर एक महिनाको बीचमा ३ पटक मान्छे लिएर आए ।
शुरूमा प्रचण्ड–नेपाल पक्षको सभाका लागि मान्छे बोकेका उनले दोस्रोपटक ओली पक्षको सभाका लागि पनि मान्छे ल्याए ।
तेस्रोपटक सभाका लागि काठमाडौं आएका उनले एक पटकको गाडी भाडा ४० हजार रुपैयाँ लिने गरेको बताए ।
५० वटा गाडी सँगै आएको उनले बताए । दुई सिटमा ४ जनासम्म बसेर आएको उनले जानकारी दिए ।
उनले २० हजार रुपैयाँ अग्रिम लिएका रहेछन् । बाँकी भाडा भने गाउँ फर्केपछि पाउने उनको आशा छ ।
हेर्नुहोस्, भिडियो/फोटो :









