
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अन्तर्राष्ट्रिय समुदायबाट सदभाव चाहेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले भारतको नामै नलिई छिमेकीबाट दाँया बाँया नहुने विश्वास व्यक्त गरेका हुन् ।
‘म सबै मित्र देशहरु खासगरी हाम्रो छिमेकी । संसारकै सबभन्दा ठूलो लोकतन्त्र भन्ने (भारत) छिमेकीहरुबाट लोकतन्त्रको हत्या भएको बेलामा लोकतान्त्रिक मूल्य मान्यतालाई समर्थन गर्नेबाट सहयोग र सदभाव चाहेका छौं । दायाँबायाँ हुने छैन भन्ने भरोसामा छौं हामी,’ प्रचण्डले भने ।
प्रचण्डले सडकमा पोखिएको जनताको आवाज संवैधानिक निकायले पनि सुन्नुपर्ने बताए ।
‘शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ? आँधी आउँछ, हुरी चल्छ, कसैले थाम्न सक्दैन,’ प्रचण्डले भने, ‘ हिजो हामी सानो समूहले विद्रोह गर्दा के भयो ? अब शान्तिपूर्ण विद्रोह, ग्रीन रिभोलुसन हुन्छ । शान्तिपूर्ण क्रान्ति हुन्छ ।'