
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएका छन् ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु भएको छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष शुरु भएको हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशु पछीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको संस्कृतिविद् बताउँछन् । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस पर्वका अवसरमा सरकारले शुक्रबार देशभर सार्वजनिक बिदा दिएको थियो ।