
बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ ।
जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो ।
व्यापार कम्पनीको चामलमा प्रतिकेजी १० रुपैयाँको फरक परेपछि कम्पनीको चामल नबिकेको हो । मूल्य घटाउन कम्पनीको केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य घटाउनेतर्फ ध्यान नदिँदा चामलले बजारको चामलसँग प्रतिस्पर्धा गर्न नसकेको हो ।
अरुवा मध्यम चामल प्रतिकेजी ४९ रुपैयाँ, अरुवा मोटो ४६ रुपैयाँ, स्टिम जिरामसिनो ६५, अरुवा मकवानपुर ४६ रुपैयाँ, अरुवा मोटो चामल ४६, खाली प्लास्टिक, जुटबोरो ४६ रुपैयाँ, प्लास्टिक जुटबोरो ४०, बंगलादेशी जुटबोरा ३० रुपैयाँमा व्यापार कम्पनीले सदरमुकामबाट बिक्री गरिरहेको छ ।
चामल बजारमा प्रतिकेजी १० रुपैयाँ कममा बिक्री हुँदा कम्पनीको चामल नबिकेको हो । अहिले कम्पनीको नायकवाडा (घाट) चौखा, घोगी, दशेरा, ताँगा, रजुतरा, घरङ्गा, टापुचौर, काउली, नलगाडमा रहेका डिपोबाट चामल बिक्री भइरहेको छ ।
बजारमा पाइने चामलभन्दा डिपोमा पाइने चामलमा मूल्य अन्तर भएपछि सस्तो पाइने ठाउँमा नै सेवाग्राही जाने गरेको पाइएको छ । वर्षायाममा सडक अवरुद्ध भएपछि अत्यधिक माग बढेको भए पनि अहिले व्यापार कम्पनीको चामल महङ्गो भएको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले जानकारी दिए ।
मूल्य घटाउन लेखर पठाएको भए पनि मूल्य घटेर केन्द्रबाट आइनपुगेको जिल्ला शाखाका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए ।
सहुलियतामा जनसाधारणलाई उपलब्ध गराउने भनिएको चामल नै बजारको भन्दा महंगो भएको गुनासो आएपछि पटक–पटक निर्णय गरेर पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।