
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि लागेको दोस्रो महाअभियोग पनि विफल भएको छ ।
माथिल्लो सदन सिनेटमा ६७ सिनेटरले महाअभियोगको पक्षमा मत दिएको भए त्यो पारित हुन्थ्यो । तर पक्षमा जम्मा ५७ मत परेको थियो भने विपक्षमा ४३ मत पर्यो । यति हुँदाहुँदै पनि रिपब्लिकन पार्टीका सात सिनेटरले पार्टीविरुद्ध जाँदै ट्रम्पमाथिको महाअभियोग पक्षमा मतदान गरे ।
ट्रम्पका आलोचकहरूले रिपब्लिकन पार्टीका सिनेटरहरूलाई दम देखाउन आग्रह गरेका थिए । उनीहरू डरका कारण ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा नरहेको आलोचकहरूको भनाइ थियो ।
रिपब्लिकन मतदातामाझ ट्रम्पको लोकप्रियताका कारण नेताहरू उनीवरुद्ध जान डराएका हुन् । उनका विरुद्ध जाँदा आगामी चुनाव हारिने डर रिपब्लिकनहरूलाई छ । तर यो एकपक्षीय व्याख्या हो ।
धेरैजसो रिपब्लिकन सिनेटरहरू ट्रम्पका विरुद्ध छैनन् भन्ने कुरा अर्को सत्य हो । उनीहरू पनि मतदाता झैं गरी ट्रम्पलाई मन पराउँछन् र उनका नीतिलाई पनि समर्थन गर्छन् अनि उनले महाअभियोग खेप्नैपर्ने किसिमको गतिविधि नगरेको विश्वास गर्छन् ।
ट्रम्पका आलोचकहरूलाई यो कुरा पचाउन अलि गाह्रो पर्छ । रिपब्लिकन मतदातामाझ ट्रम्पको समर्थन सूचकांक लगभग ८० प्रतिशत छ । रिपब्लिकन सांसदहरू त्यस्तो बलियो समर्थन सूचकांकलाई बेवास्ता गर्न सक्दैनन् ।
ट्रम्प रिपब्लिकन पार्टीमै बसिरहून् भनेर पनि उनीहरूले उनको पक्षमा मतदान गरेका हुन् । यसबीचमा ट्रम्पले पेट्रियोटिक पार्टी खोल्ने योजना सार्वजनिक गरेका थिए । त्यस्तो पार्टीले रिपब्लिकनहरूको मत काटिदिन्छ ।
तर कतिपय सिनेटरहरू रिटायर हुन लागेका छन् । उनीहरूलाई त ट्रम्पको डर नहुनुपर्ने हो तैपनि उनीहरूले ट्रम्पको पक्षमा मत दिए । यसबाट सिद्ध हुन्छ, उनलाई मन पराउनेको संख्या ठूलै छ ।
आखिर रिपब्लिकन सिनेटरहरूलाई ट्रम्प पार्टीभित्रको सशक्त व्यक्तित्व हुन् भन्ने कुरा थाहा छ ।
वास्तवमा भन्ने हो भने ट्रम्प सन् २०२४ मा राष्ट्रपति उम्मेदवारका योग्य पात्र हुन् । सबै किसिमका प्राइमरी पोलहरूलाई उनले सहजै अग्रता लिइरहेका छन् । यसअघि एक कार्यकाल मात्र चलाउन पाएका राष्ट्रपतिहरूको तुलनामा उनी राष्ट्रपति उम्मेदवारका लागि सबभनदा सशक्त पात्र हुन् ।
ट्रम्पले यसबाट फाइदा नउठाउलान् भन्ने कुनै कारण देखिँदैन । उनलाई चर्चामा रहिरहन मन लाग्छ र भीड देखेर उनी पुलकित हुन्छन् । त्यसैले अब छिट्टै नै उनी चुनावी अभियानमा होमिनेछन् ।
ट्रम्पविरुद्धको दोस्रो महाअभियोगले एउटा कुरा स्पष्ट पारेको छ । त्यो के भने उनले रिपब्लिकन पार्टीलाई नियन्त्रणमा राखेका छन् । उनीविरुद्धको महाअभियोग पारित नगरेर रिपब्लिकन पार्टीले ठूलो अवसर गुमाएको हो ।
पार्टीका अन्य उम्मेदवारले सन् २०२४ मा हुने निर्वाचनमा पाउने अवसर निकै नै खुम्चिएको छ ।
त्यसैले महाअभियोगबाट सफाइ पाउनेबित्तिकै ट्रम्पले प्रतिक्रिया दिए– हाम्रो आन्दोलन जारी छ ।