
पर्यटकीय नगरी सौराहा प्रणय दिवस (भ्यालेन्टाइन डे) मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ ।
शुक्रवार र शनिवारको बिदा र यसपछिको प्रणय दिवसले आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको हो ।
रेस्टुरेन्ट एण्ड बार एसोशिएसन (रेबान) सौराहाले यही अवसरमा खाद्य महोत्सवको समेत आयोजना गरेको छ ।
रेबानका निवर्तमान अध्यक्ष गोकर्ण गिरीका अनुसार सौराहाको हात्तीचोकदेखि गैंडाचोकसम्मको ६०० मिटर सडक किनारमा विभिन्न परिकारका कक्ष राखिएका छन् । २ दिने महोत्सव आइतवारसम्म जारी रहने छ ।
महोत्सवका अवसरमा विभिन्न जातिका सांस्कृतिक पहिचान झल्कने खानाका परिकार राखिएका छन् ।
ती जातिले सांस्कृतिक प्रदर्शनीसमेत प्रस्तुत गरिरहेका छन् । उनका अनुसार आइतवार ब्राह्मणसहित विभिन्न जातिका ९ जातीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छन् ।
थारु, तामाङ, कुमाल, मगर, नेवारलगायत जातिले आआफ्ना संस्कृति झल्कने प्रस्तुति देखाउने छन् । अध्यक्ष गिरीले भने, ‘अन्य व्यवसायी पनि उत्साहित भएका छन् ।’
सबैले यस्ता कार्यक्रम हरेक शुक्रबार गर्न सुझाएको उनले बताए । स्वीकृति पाएमा रेबानले हरेक हप्ता कार्यक्रम गर्ने उनको भनाइ थियो ।
क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार शनिवार देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहाका सबै होटल भरिएका थिए ।
देशका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक घुम्न आएका छन् । समूहगत रूपमा घुम्न आउनेको संख्या पनि राम्रो रहेको उनको भनाइ छ ।
संघका अध्यक्ष दीपक भट्टराईले आइतवार पनि सौराहाका सबै होटल भरिने अपेक्षा गरिएको बताए । उनले भने, ‘लगातार बिदा र त्यसपछि परेको प्रणय दिवसले सौराहा भरिएको छ ।’
अंग्रेजी नयाँ वर्षको दिनपछि शनिवार सबैभन्दा बढी पर्यटक सौराहा आएको उनको भनाइ छ । पर्यटकको संख्या बढेसँगै अन्य पर्यटकीय गतिविधि पनि चलायमान भएको छ ।
हात्ती सफारी, डुंगा शयर, जीप सफारी, थारु सांस्कृतिक प्रदर्शनीसँगै अन्य व्यवसायमा पनि सकारात्मक प्रभाव देखिएको छ । राति अबेरसम्म सौराहाका राप्ती नदी किनारका रेस्टुरेन्टमा पर्यटक रमाउने गरेका छन् ।
सौराहामा ५ हजार ५०० पर्यटकलाई एकैपटक राख्नसक्ने क्षमता छ । १२० होटल र करीब १०० रेस्टुरेन्ट सञ्चालनमा छन् । मुख्यरूपमा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्छन् ।
विशेष पर्वमा भने सौराहा घुम्नका लागि मात्रै पनि पर्यटक आउने गर्दछन् ।