
भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलमा सेवाग्राहीसँग ‘ब्ल्याक लेबल ह्विस्की’ माग्ने नायब सुब्बा मन्दिपकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै ह्विस्की र ४० हजार नगद घुस लिएको अभियोगमा आरोपपत्र दायर गरिएको जानकारी दिए ।
‘अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरका नायब सुब्बा मन्दिपकुमार श्रेष्ठले सेवाग्राहीको जग्गा हाल साविकको क्रममा ट्रायल चेक गर्दा क्षेत्रफल बढी भएको भनी उक्त जग्गाको हाल साविकका लागि ४०,०००।– र ब्ल्याक लेबल ह्विस्की १ (एक) बोतल माग गरी आफूले नबुझी आफू समेतले लिने खाने उद्देश्यले उक्त रकम लेखापढी काम गर्ने भनिएका रमेशलाल श्रेष्ठलाई बुझ्न लगाएको स–प्रमाण पुष्टि भएको हुँदा निज मन्दिपकुमार श्रेष्ठले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले निजलाई बिगो रु ४७,८५० (सड्चालीस हजार आठसय पचास रुपैयाँ) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।