
प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको टोखा नगरपालिका–१० टोखा डेरा गरी बस्ने गोरखा अजिरकोट गाउँपालिका–२ घर भएका ३८ वर्षीय चिजकुमार गुरुङलाई २२२ ग्राम लागूऔषध एम्फेटामाईन र १ थान लागूऔषध तौल गर्ने डिजिटल तराजुसहित गत आइतवार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले टोखा नगरपालिका–१० स्थित सडकमा उनको साथबाट १० ग्राम र अनुसन्धानको क्रममा उनकै कोठाबाट थप २१२ ग्राम गरी जम्मा २२२ ग्राम लागूऔषध एम्फेटामाईन बरामद गरेको व्यूरोले जनाएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका–२ कार्तिककुमर बडहरी खोलाबाट २ केजी २५० ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका–९ बस्ने २२ वर्षीय रामशरण महतो र २१ वर्षीय जितेन्द्र महतो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी बटेश्वरबाट खटिएको प्रहरीले महोत्तरीबाट धनुषातर्फ पैदल आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा लागूऔषधसहित फेला पारेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।