१५ असार २०८३, सोमबार

‘भ्यालेन्टाइन डे’ का दिन आयो उपन्यास ‘कफी लभ’

‘भ्यालेन्टाइन डे’ का दिन आयो उपन्यास ‘कफी लभ’

गीत लेखनबाटै गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा.डीआर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको लोकार्पण कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशक लगायतले पुस्तकको संयुक्त विमोचन गरेका हुन् ।

कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अबरोहको कथामा यो उपन्यास केन्द्रित रहेको छ । देहरादुनका दुन विश्वविद्यालयमा भेटिएका पाँच जना नेपाली विद्यार्थीहरुबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ ।

पुस्तकबारे बोल्दै कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवन शैली र बर्तमान नेपाली समाजको अवस्था यसले छर्लङ्ग पारेको बताए । आख्यानकार डीआर उपाध्यायले यो पुस्तक लेख्दा आफु २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवा युवतीहरुको संगतमा रही उनहरुको प्रेम भावलाई पुस्तकमा समेटेको बताए । यो पुस्तक तन्नेरी मनहरुसंग सामिप्य रहेको र सबै पुस्ता एवम् बर्गको भाव यसमा समेटेको पनि उनले जानकारी गराए ।

पुस्तकको समीक्षा गर्दै कवि हेम प्रवासले तृतीय पुरुषमा लेखिएको यो उपन्यास सम्बाद शैलीको भएको बताए । उपन्यास पढ्न थालेपछि उपन्यास भित्रका पात्रहरुको यात्रा र उनीहरुबीच अब के होला भन्ने कौतुहलताले कृति पढेर सकिएको महसुस नै नहुने बताए ।
गायक तथा संगीतकार सागर शरद अधिकारीले राम्रा गीत लेखेर विश्व रेकर्ड कायम गरेका डा. उपाध्याय आख्यान लेखनमा पनि त्यत्तिकै प्रभावशाली भएको बताए । पुस्तकका सम्पादक तथा गीतकार सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो उमेर भन्दा आधा उमेरमा झरेर आख्यानकार डीआर उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रुपमा पुस्तकमा उतारेको बताए । घटना, स्थान, परिवेश र सम्बादलाई यथार्थपरक रुपमा समेटेकाले यो उपन्यास सबैलाई आफ्नो कथा हो जस्तो लाग्ने पनि उनले बताए ।

प्रकाशक पुष्पराज पौडेलले पुस्तक पढेपछि आफ्नो लगानी सही कितावमा परेको महसुस पाठकलाई हुने जिकिर गरे । शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेशनले वितरण गरेको यो उपन्यासलाई डब्बु क्षत्रीले सम्पादन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्