
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–नेपाल समूहलाई चुनावको मुखमा पार्टी विभाजन गर्नु उपयुक्त नभएको सुझाव दिएका छन् ।
सिंहदरबार पुनर्निर्माणपछिको उद्घाटन कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री चुनावमा एकतावद्ध भएर जान आग्रह गरे ।
‘निर्वाचन घोषणा नहुँदासम्म व्यक्तिगत स्वार्थ र उद्देश्य होलान्, ती प्राप्त गर्ने अनुचित प्रयास पनि भए होलान् । निर्वाचन घोषणापछि त चुनावी घोषणापत्र तयार गरेर जनताका बीचमा जानुपर्छ । यस्तो बेला पार्टी विभाजन गर्नु कसको हितमा ? कसका स्वार्थका लागि ?’ उनले सोधे ।
प्रतिनिधिसभा विघटन र चुनावमा जाने कुरा पार्टी एकजुट बनाउने कुरा भएको ओलीले बताए । ‘म स्पष्ट पार्न चाहन्छु – अहिले नेकपाभित्र नेताहरूबाट जुन प्रकारका अस्वस्थ गतिविधि भइरहेका छन्, यी अलोकतान्त्रिक, गैरजिम्मेवार छन् र ती संविधानसम्मत हुने प्रश्नै छैन,’ उनले भने ।
कुनै पनि निर्वाचनले देश र पार्टीलाई विभाजित नगर्ने उनले बताए । ‘गुटबन्दी, जालझेल, तिकडम लोकतान्त्रिक मूल्य मान्यता होइन । निर्वाचन लोकतान्त्रिक प्रणालीको एउटा अंग हो, लोकतन्त्रमा निर्वाचनले पार्टी र देशलाई विभाजित गर्दैन, एक गर्छ,’ उनले भने, ‘निर्वाचनको घोषणापछि एकजुट भएर निर्वाचन सामना गर्न र आफ्नो उद्देश्यमा परिणाम प्राप्त गर्न, सही उद्देश्यमा सुदृढ एकताका साथ अगाडि बढ्ने छौं । विभिन्न निहुँ र बहाना बनाएर, विभिन्न भ्रमको खेती गरेर, पार्टीलाई नै विभाजित गर्ने र कमजोर बनाउने कुरा अपराधपूर्ण कुरा हो ।’
ओलीले चुनाव गराउनु प्रतिगमन हो भने नेपालको संविधानमै यसको व्यवस्था रहेको तर्क गरेका छन् । उनले चुनाव कसरी प्रतिगमन हो भनेर प्रश्न गरेका छन् ।
‘प्रतिनिधि सभाको विघटनपछि आपत्तिजनक आरोप लगाइएको सुनें, साथीहरू के वास्तवमै बहस गर्दै हुनुहुन्छ कि लाञ्छना मात्रै लगाइरहनुभएको छ ? के निर्वाचन प्रतिगमन हो ?’ उनले सोधे, ‘निर्वाचनलाई प्रतिगमन भनेको हो भने अहिले नभए पनि २ वर्षपछि त चुनाव हुन्छ नै । चुनावलाई प्रतिगमन हो भन्ने हो भने प्रतिगमन त हाम्रो संविधानमा नै छ । साथीहरू केलाई प्रतिगमन भनिरहनुभएको छ ?’
उनले अगाडि थपे, ‘म सरकारमा टाँसिरहन्छु भनेको छैन, जनताको बीचमा जानु कसरी अलोकतान्त्रिक र प्रतिगमन ?’ अघिल्लो चुनावमा जनादेश ठीकै भएपनि व्यक्ति र पात्र ठीक नभएकाले अबको चुनावबाट ठीक पात्रलाई जनताको प्रतिनिधि बनाउन खोजिएको बताए ।
ओलीले प्रतिनिधिसभा संसदको ३६% संख्यालाई जतिपल्ट गने पनि ५१% नपुग्ने भएकाले वैकल्पिक सरकार गठनको सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले संसदमा आफूलाई ६४% सदस्यको समर्थन रहेको दाबी गरे ।
‘नेकपाभन्दा बाहिरबाट जहाँ ३६% संख्या जतिपल्ट गने पनि ५१% पुग्दैन । कुनै वैकल्पिक सरकारको सम्भावना छैन,’ उनले भने ।
संसद विघटन नगरेको भए अस्वस्थ गतिविधिको बाटो खुला हुने र त्यसले अराजकता निम्त्याउने भएकाले विघटन गरिएको उनले बताए । ‘मैले विघटनको बाटो नगएर अस्वस्थ गतिविधिको बाटो खुला गरिदिने हो भने एकीकृत पार्टी नरहने, कसैसँग बहुमत नरहने, विभिन्न समीकरण खेल शुरू हुने र देश अस्थिरता र अस्थायित्वतिर जाने । ती सम्भावनाहरू स्पष्ट देखा परे,’ उनले भने, ‘फेरि उही महिना–महिनामा सरकार परिवर्तन हुने । यस्तो अनियन्त्रित शृंखला शुरू हुने । यस बाटामा राष्ट्रिय राजनीति थकेलिने सम्भावना थियो ।’
देशलाई राजनीतिक अस्थिरताको खेल मैदान बन्न नदिन विघटनको निर्णय लिइएको ओलीले बताए । ‘प्रतिनिधि सभाको बाँकी यस कार्यकाललाई राजनीतिक अस्थिरताको खेल मैदान बन्न दिनु हुँदैन । यस्तो बन्न दिने कि अर्काे विकल्पमा जाने ? प्रधानमन्त्रीका हैसियतमा मेरासामु २ विकल्प मात्रै थिएँ,’ उनले भने, ‘जनताले मलाई दिएको विश्वास र जिम्मेवारी पूरा गर्न दिइएन । त्यसकारण म पुनः जनताका बीचमा जानुपर्छ, ताजा जनादेशमा जानुपर्छ भन्ने निर्णयमा पुगें ।’
बाहिरबाट कुनै आलोचना नभइरहेका बेला पार्टीभित्रकै साथीहरूले सकभर अल्मल्याउने, अल्मल्याउन नसके निहुँ खोजेर कामै गर्न नदिने गतिविधि गरेका ओलीले बताए ।
‘पार्टीकै १ जना व्यक्तिले झूटो लाञ्छनाको पत्र पेश गरेकोबाहेक केही आलोचना छैन । संसदीय दलमा मेराविरुद्ध कुनै उजुरी छैन । संसदीय दलका सदस्यबाट कुनै समस्या पर्यो भनेर माग पनि छैन, यस्तो माग संसदीय दलका उपनेता, प्रमुख सचेतक, सचेतकसम्म पनि आएको छैन,’ उनले भने ।