
तिब्बती धर्मगुरु दलाई लामाले एक दशकअघि निकै महत्त्वपूर्ण घोषणा गरेका थिए ।
त्यतिखेर उनले आफू ९० वर्षको भएपछि पुनर्जन्म लिने कि नलिने भनी निर्णय गर्ने बताएका थिए ।
चौधौं दलाई लामा तेन्जिन ग्यात्सोको स्वास्थ्य अवस्था राम्रो छ र उनी अहिले ८५ वर्षका भए । तर उनको उत्तराधिकारीका विषयमा प्रश्नहरू लगातार उठिरहेका छन् । उनको देहावसानपछि एसियामा धार्मिक संकट उत्पन्न हुने डर छ ।
सन् १९५९ मा चीनविरुद्ध असफल विद्रोह गरेर भारततर्फ भागेका दलाई लामाले धर्मशालामा निर्वासित सरकार गठन गरेका थिए । उनको पछि लागेर जाने हजारौं तिब्बतीहरू त्यहीँ बस्छन् । दलाई लामाले आफ्नो निर्वासन छोटो अवधिको हुने आशा गरेका थिए तर तिब्बतमा बेइजिङको पकड झनै मजबूत भएको छ र दलाई लामा फर्किने सम्भावना न्यून छ ।
बेइजिङले उनलाई चीनबाट तिब्बत टुक्य्राउन खोज्ने पृथक्तावादीका रूपमा हेर्ने गरेको छ । त्यसैले उनको पुनर्जन्म आफूले हासिल गर्न खोजेको राजनीतिक लक्ष्यमुताबिक होस् भन्ने चाहना बेइजिङको छ ।
सन् १९७४ देखि दलाई लामाले चीनबाट स्वतन्त्रता नचाहेको, बरू सार्थक स्वायत्तता खोजेको जसबाट तिब्बतले आफ्नो संस्कृति र विरासतलाई कायम राख्न सकोस् भन्दै आएका छन् ।
केही वर्षदेखि दलाई लामाले आफ्नो पुनर्जन्मका विषयमा विभिन्न विकल्पहरू पेश गरिरहेका छन् । नयाँ उत्तराधिकारी तिब्बतमा नभई भारतमा छान्ने अनि उत्तराधिकारी महिला हुनेसम्मका कुरा उनले गरेका छन् ।
तर विज्ञहरूका अनुसार, उनले जे विकल्प छाने पनि चीन सरकारले नयाँ दलाई लामाको छनोटमा हस्तक्षेप गर्नेछ । नयाँ दलाई लामाले सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रणलाई समर्थन गर्ने अपेक्षा छ ।
यस्तो स्थितिमा दुई बेग्लाबेग्लै दलाई लामा छानिने हुन सक्छ ः एक चीनमा, एक भारतमा ।
धर्मशालामा रहेको टिबेट पोलिसी इन्स्टिच्युटका रिसर्च फेलो तेन्जिन छेतेनका अनुसार, दलाई लामा तिब्बतीहरूका लागि महत्त्वपूर्ण छन् र राष्ट्रियता तथा पहिचानका प्रतीक हुन् । ‘तिब्बतीहरूले चिनियाँ कम्युनिस्ट पार्टीद्वारा नियुक्त दलाई लामालाई कहिले पनि स्वीकार गर्ने छैनन् ।’
तत्कालका लागि दलाई लामा तिब्बत फर्किनुअघि नै बितेमा उनको पुनर्जन्म कसरी हुन्छ भन्ने विषयमा कुनै आधिकारिक निर्देशन छैन ।
तर सन् २०११ मा दिएको महत्त्वपूर्ण बयानमा चौधौं दलाई लामाले भनेका थिए, ‘पुनर्जन्म लिने व्यक्तिले नै कहाँ र कसरी पुनर्जन्म लिने हो तथा उक्त पुनर्जन्मलाई कसरी पहिचान दिने भन्ने विषयमा एकाधिकार राख्छ ।’
आफूले पुनर्जन्म लिन चाहेमा १५औं दलाई लामा खोज्ने जिम्मेवारी गादेन फोद्राङ ट्रस्टमा रहने दलाई लामाले बताएका छन् । स्विट्जरल्यान्डमा रहेको उक्त समूह उनले तिब्बती संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि र तिब्बतीहरूको सहायताका लागि खोलेका हुन् ।
दलाई लामाले आफ्नो पुनर्जन्म विगतको परम्परा अनुसार हुनुपर्ने बताएका छन् ।
तर तिब्बतमा पुनर्जन्म हुने खासै सम्भावना देखिँदैन । गादेन फोद्राङ ट्रस्टले त्यहाँ पहुँच समेत पाएको छैन ।
चीन सरकारले दलाई लामाको पुनर्जन्मका विषयमा आफूले चाहेको के हो भन्ने विषयमा धारणा सार्वजनिक गरिसकेको छ । पुनर्जन्म तिब्बतमै हुने र बेइजिङले चाहेमुताबिक हुने उसले बताएको छ ।
सन् २००७ मा चीन सरकारको स्टेट रिलिजियस अफेयर्स ब्यूरोले एक दस्तावेज सार्वजनिक गर्दै पुनर्जन्म व्यवस्थापनका उपायहरूको बेलीविस्तार लगाएको थियो ।
तिब्बतका धार्मिक व्यक्तित्वहरूको पुनर्जन्मलाई चिनियाँ अधिकारीहरूले स्वीकृत गर्नुपर्ने र विशेषगरी ठूलो प्रभाव भएकाहरूलाई स्टेट काउन्सिलले स्वीकृत गर्नुपर्ने दस्तावेजमा उल्लेख गरिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले आगामी दलाई लामाको छनोटमा कुटिल उपाय अपनाइरहेको विज्ञहरू बताउँछन् । हालैका वर्षमा बेइजिङले आफूप्रति बफादार वरिष्ठ लामाहरूलाई छानेर तालिम दिइरहेको बताइएको छ ।
दलाई लामाको उत्तराधिकारी छान्दा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीले भन्दा पनि तिब्बती बौद्ध धर्मगुरुहरूले छानेको भन्ने देखाउनका लागि यसरी अहिल्यैदेखि तयारी गरिएको हो ।
टिबेट पोलिसी इन्स्टिच्युटका तेन्जिनका अनुसार, बेइजिङले आफूअनुकूलको पन्चेन लामाको प्रभाव बिस्तारै बढाइरहेको छ । उनी चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष अधिकारीको बैठकहरूमा देखिएका छन् । उनले १५औं दलाई लामाको छनोट गर्दा बेइजिङ अनुकूल हुने गरी आफ्नो अधिकार प्रयोग गरून् भन्ने आशय देखिन्छ । दलाई लामा छनोट गर्ने वरिष्ठ लामाहरूमा पन्चेन लामा पनि पर्छन् ।
दलाई लामाको मृत्युको भूराजनीतिक प्रभाव निर्वासित तिब्बतीहरूमा कसरी पर्छ भन्ने कुरा स्पष्ट छैन । भारतले धर्मशालामा रहेको समुदायलाई राजनीतिक जोखिमका रूपमा हेर्ने गरेको छ र दलाई लामाको अनुपस्थितिमा उनीहरूलाई देश छोडेर जाने दबाब दिने हो कि भनी केहीले चिन्ता व्यक्त गरेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीले छानेको दलाई लामाविरुद्ध तिब्बतमा प्रदर्शन गर्न गाह्रो छ किनकि बेइजिङले त्यहाँ कठोर नियन्त्रण कायम गरेको छ भनी विज्ञहरू बताउँछन् । त्यसो त ती नयाँ दलाई लामाको प्रभाव तिब्बतीहरूमा निकै कम देखिनेछ । पन्चेन लामाको उदाहरणबाट यो स्पष्ट हुन्छ । उनी चीनका बन्दी बनेर बसेका छन् ।
सीएनएनमा प्रकाशित बेन वेस्टकोटको विश्लेषण