
लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सैनिकहरूबीच भएको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएकोमा मारिएका चिनियाँ सैनिकको संख्याको बल्ल खुलासा भएको छ ।
चिनियाँ जनमुक्ति सेनाले दाबी गरेअनुसार, भिडन्तमा उसका चारजना सैनिक मारिएका थिए र एकजना नराम्ररी घाइते भएका थिए । चीनले मारिएका सैनिकको नाम पनि जारी गरेको छ ।
उनीहरू चन होङजुन, चन श्याङरोङ, शियाओ सियुआन र वाङ चुओरान भएको चिनियाँ सेनाले जानकारी दिएको छ । उनीहरूलाई श्रद्धाञ्जली दिँदै ती सैनिकहरूले राष्ट्रिय सम्प्रभुता र भूमिको रक्षाका लागि ज्यान सुम्पेको पीएलएले बतायो ।
मारिएका चिनियाँ सैनिकमा एक बटालियन कमान्डर र तीन सैनिक छन् । रेजिमेन्टल कमान्डर गम्भीर रूपमा घाइते भए ।
चीनको सेन्ट्रल मिलिटरी कमिसनले सिन्ज्याङ मिलिटरी कमान्डका रेजिमेन्टल कमान्डर ची फाबाओलाई हिरोइक रेजिमेन्टल कमान्डर फर डिफेन्डिङ द बोर्डर पुरस्कार दिएको छ । चन होङजुनलाई हिरो टु डिफेन्ड द बोर्डर अनि चन श्याङरोङ, सियाओ सियुआन र वाङ चुओरानलाई फर्स्ट क्लास मेरिट दिइएको छ ।
भारतीय सेनाले अवैध तरिकाले गलवान उपत्यकामा वास्तविक नियन्त्रण रेखा पार गरेको र स्टील, लट्ठी तथा पत्थरले पीएलए सैनिकहरूमाथि आक्रमण गरेको आरोप चीनले लगाएको छ ।
भारतले चीनको सीमामा प्रवेश गरेर सडक तथा पुल बनाउन खोजेको पीएलएको भनाइ छ ।