१२ असार २०८३, शुक्रबार

काठमाडौं सांस्कृतिक महोत्सव सम्पन्न

काठमाडौं सांस्कृतिक महोत्सव सम्पन्न

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को पूर्वसन्ध्यामा काठमाडौं महोत्सव सम्पन्न गरेको छ । 

दरवार मार्गमा आयोजना गरिएको महोत्सवमा कलाकारहरुसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रस्तुति रहेको थियो । 

नेपाली सेनाले मौलिक परम्परागत बाजा बजाएर ‘करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल’, ‘पंक्षीमा डाँफे राम्रो’, ‘नेपाली हामी रहौंला कहाँ’, ‘गाउँछ गीत नेपाली’, ‘पश्चिम कोही पूर्व घर’ बोलका गीतमा धुन प्रस्तुत गरेको थियो । सेनाले एउटा ‘टप्पा’ नृत्य र एउटा ‘तामाङ् सेलो’ नृत्य प्रस्तुत गरेको थियो । 

नेपाल प्रहरीले ‘नेपाली हामी रहौंला कहाँ’ र ‘मै भेडी गोठालो’ बोलको गीतमा नृत्य प्रस्तुत गरेको थियो । 

सशस्त्र प्रहरीले ‘आँखैमा राख्छु मेरो देश’ बोलको राष्ट्रिय गीत र अर्को एउटा ‘झ्याउरे गीतमा नृत्य प्रस्तुत गरेको थियो । तीनवटै सुरक्षा निकायका व्याण्डहरुले संयुक्त रुपमा ‘मन त मेरो नेपाली हो’, ‘मलाई प्यारो लाग्छ’, ‘रातो र चन्द्र सूर्य’ बोलका गीतमा व्याण्ड गायन प्रस्तुति गरेका थिए । 

महोत्सवमा सविन राई एण्ड पारोहको बिशेष प्रस्तुति थियो । उनले ‘जव तिमी आयौ’, ‘तिमीलाई हो’, ‘तिम्रो साथ’ लगायत पप गीत गाउनु भएको थियो । गायक मदन गोपाल नेपालीले ‘यो देशको माटो चुम्दै’, ‘सय थरी बाजा’, ‘लेकाली है’, ‘साँघुरी पारी’ र ‘माया लै लै’लगायत संगीत संयोजन गरिएको (मेड्ली) गीत गाएका थिए । 

गायिका मञ्जु पौडेलले ‘नेपालकी छोरी राष्ट्रिय गीत, ‘चुरोट लाइलर’, ‘गाह्रो हुन्छ फेरि’ लगायत गीत गएकी थिइन् ।  

प्रकाश सपुतले ‘ फाटेका चुरा’, ‘गलबन्दी च्यातियो’ लगायत गीतहरू एकल प्रस्तुतिका रुपमा र ‘आयो तेरो सर, बाटो खाली गर’ र ‘सरसर’ बोलका गीतमा प्रीति आलेसँग दोहारी व्याटल गएका थिए ।

त्यस्तै गायिका प्रीति आलेले ‘फरिया लरि लै बरि लै’, ‘अब हेर बेली डान्स’ लगायतका गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा गायिका मिलन नेवारले ‘फुलबुट्टे सारी’, ‘गाला रातै’ लगायत गीत प्रस्तुत गरेकी थिइन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पारेर राष्ट्रिय भावना जागृत गराउन सुरक्षा निकायका प्रस्तुति राखिएका थिए । महोत्सवका बारेमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘कोभिड १९ को महामारीले आम मानिसमा परेको त्रास कम गराउँदै आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको हो ।’

उनले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै महामारी न्यूनीकरण र नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) ले थलिएको कला क्षेत्रलाई पुनर्जीवन दिन महानगरको आयोजना गरेको कार्यक्रमको प्रशंशा गरेका थिए । 

कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पूरै समय बसेर कलाकारलाई हौसला दिएका थिए । त्यस अवसरमा सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, कर्मचारी र जनसाधारणको सहभागिता थियो । 

दरबार मार्ग क्षेत्रमा गरिएको कार्यक्रममा स्थानीय व्यापारीले खानाका स्टलहरू राखेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्