
नेकपाको प्रचण्ड–नेपाल समूहले केही दिनभित्रै प्रदेश, जिल्ला कमिटी, केन्द्रीय निकायलाई पूर्णता दिने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी एकीकरणका बाँकी काम तथा प्रदेश कमिटीका पदाधिकारीको चयन, जिल्ला कमिटीका पदाधिकारी र केन्द्रीय निकायको एकीककरणको कामलाई पूर्णता दिने निर्णय गरेको हो ।
बैठकमा त्यसका लागि प्रदेश कमिटी र जिल्ला कमिटीसमेतले पाएको जिम्मेवारी र अधिकारका बारेमा तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
आजको अनौपचारिक बैठकले प्रतिनिधिसभा विघटनको कदमविरुद्ध पार्टीले जारी राखेको आन्दोलनको समीक्षासमेत गरेको उनले जानकारी दिए ।