३१ जेठ २०८३, आइतबार

गृहजिल्लामै रहँदा प्रचण्डलाई खुशीको माहोल ! विरोध सभालाई विजय सभा बनाउन निर्देशन

फागुन १२, २०७७
गृहजिल्लामै रहँदा प्रचण्डलाई खुशीको माहोल ! विरोध सभालाई विजय सभा बनाउन निर्देशन

सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी प्रधानमन्त्रीको निर्णयलाई बदर गर्दै पुनःस्थापना गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा रहेका दलहरूसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

अदालतले गरेको फैसला ऐतिहासिक भएको उनले बताए । 

संसद् पुनःस्थापना भएपछि मंगलवार साँझ कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनतासँग वाचा गरे अनुरूप दलहरूसँग मिलेर संयुक्त सरकार बनाउने बताएका छन् । 

‘यो विजय नेपाली जनताको विजय हो,’ दाहालले भने, ‘यो लडाइँ कुर्सीको लागि होइन संविधानको लागि हो ।’ उनले राजनैतिक दलहरूसँग समझदारी बनाएर सहमतिका साथ अगाडि बढ्ने बताए । 

दाहालले बधाई दिँदै देशभरका कार्यकर्तालाई आ–आफ्नो ढंगले विजयोत्सव मनाउन अपिल गरेका छन् । दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।

उनले ओली पक्षधरमा लागेका नेता कार्यकर्तालाई मूल पार्टीमा आउन समेत आग्रह गरे ।

चितवन गार्डेन रिसोर्टमा रहेका नेताद्वय दाहाल र माधवकुमार नेपाललाई भेट्न कार्यकर्ताहरू त्यहाँ पुगेका थिए । अदालतको निर्णयपछि चितवनका कार्यकर्तासँग उनीहरूले खुशी साटेका हुन् ।

नेकपाका वरिष्ठ नेता नेपालले सम्बोधन गर्दै प्रधामन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताए । बुधवारका लागि तय गरिएको विरोध सभालाई विजय सभाको रूपमा गर्ने नेकपाले निर्देशन दिएको छ ।

कार्यकर्ताहरूले नेताहरूलाई लड्डु खुवाएका थिए । ‘कहीँ उज्यालो फेरिएको छ कहीँ अन्धकार पनि होला । साँझमा कहीँ सूर्य उदाइरहेको छ कहीँ अस्ताइरहेको होला,’ नेपालले भने, ‘सत्यको जीत भयो, न्यायको जीत भयो, नेपाली जनताको जीत भयो ।’

निरंकुश प्रवृत्तिले जबरजस्त पराजयको सामना गर्नुपरेको बताउँदै उनले भने, ‘केपी ओली अब कम्युनिस्ट भन्न लायक छैनन्, लोकतन्त्रवादी भन्न लायक रहेनन् ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्