पाकिस्तानका प्रधानमन्त्री इमरान खानले श्रीलंका भ्रमणका क्रममा अर्बौं डलरको चीन पाकिस्तान आर्थिक कोरिडोरमा जोडिन आह्वान गरेका छन् ।
मंगलवार उनले सीपीईसीमार्फत श्रीलंकासँग व्यापारिक सम्बन्ध बढाउने दिशामा पाकिस्तान अघि बढ्न चाहेको बताए । श्रीलंका चीनको महत्त्वाकांक्षी बेल्ट यान्ड रोड इनिसिएटिभको हिस्सा भएको र सीपीईसी त्यसको सबभन्दा उम्दा उदाहरण भएको उनको भनाइ छ ।
श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेसँगको भेटघाटपछिको सम्बोधनका क्रममा उनले बताए, ‘सीपीईसीमार्फत मध्य एसियासँग सम्पर्क कायम हुन्छ र श्रीलंकाले त्यसबाट फाइदा उठाउन सक्छ ।’
बलोचिस्तानमा ग्वादर बन्दरगाहलाई चीनको सिन्ज्याङ प्रान्तसँग जोड्ने सीपीईसी चीनका राष्ट्रपति सी चिनफिङको ड्रीम प्रोजेक्ट हो ।
कोभिड महामारीपछि श्रीलंकाको यात्रा गर्ने पहिलो विदेशी सरकारप्रमुख इमरान खानले बुधवार श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेसँग भेटघाट गर्दैछन् ।
दुई देशबीच व्यापार र लगानी बढाउने उद्देश्यले आयोजित संयुक्त सम्मेलनमा पनि इमरान खानले भाग लिनेछन् ।