१० असार २०८३, बुधबार

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने ओली पक्षको निर्णय, तोकिएकै मितिमा संसद् आह्वान गरिने

फागुन १२, २०७७
सर्वोच्चको फैसला कार्यान्वयन गर्ने ओली पक्षको निर्णय, तोकिएकै मितिमा संसद् आह्वान गरिने
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको संवैधानिक इजलासबाट गरिएको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

'​नेकपा शक्तिपृथकीकरण, लोकतन्त्रका आधारभूत मूल्य मान्यता र विधिको शासनमा विश्वास गर्ने पार्टी हो । हिजो संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय गरेका छौं,' प्रवक्ता ज्ञवालीले सञ्चारकर्मीमाझ भने ।

उनले थपे, 'अहिले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने, सम्मान गर्ने हिसाबले अगाडि बढ्छौं । छिट्टै पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक पनि बोलाउँछौं ।'

परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले सर्वोच्चले तोकेकै अवधिभित्र संसद् अधिवेशन आह्वान हुने जानकारी पनि दिए ।

'संसद्को चौथो अधिवेशन निर्धारित समयमै आह्वान हुन्छ । त्यस पछाडिको राजनीतिक परिदृष्य कस्तो हुन्छ भन्नेमा सम्बन्धित सबैसँग छलफलमा छौं,' ज्ञवालीले भने ।

प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको छ ।

प्रतिनिधि सभा पुनर्स्थापनापछि बसेको ओलीपक्षीय नेकपाको यो पहिलो औपचारिक बैठक हो ।

salt training

कमेन्ट गर्नुहोस्