
बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ ।
गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको हो ।
जिल्लाभर ५ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा छन् । तीमध्ये सदरमुकामस्थित धौलागिरि अस्पतालमा सबैभन्दा बढी सुरक्षित गर्भपतन हुने गरेका छन् ।
सदरमुकाम र जिल्लाको सुदूरपश्चिममा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै अनिच्छित गर्भ रहेका महिला गर्भपतनका लागि पुग्ने गरेका छन् ।
चालू आर्थिक वर्षको हालसम्म धौलागिरि अस्पतालमा १६५ महिलाले सुरक्षित गर्भपतन गराएको तथ्यांक छ । अस्पतालका नर्सिङ निरीक्षक मिलन बडूवालका अनुसार कोरोना भाइरसको महामारी फैलिनुभन्दा पहिले हरेक महिना ५० महिला गर्भपतनका लागि आउने गरेको भए पनि पछिल्लो समयमा भने ३०/३५ जना मात्र आउने गरेका छन् ।
गत वर्ष अस्पतालबाट ६०० महिलाले गर्भपतन गराएका थिए । डा. मिलन मल्लका अनुसार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट चालू वर्षको हालसम्म ९९ महिलाले सुरक्षित गर्भपतन गराएका छन् । १२ हप्तासम्मको सुरक्षित गर्भपतन बुर्तिबाङमै गराए पनि त्यो भन्दा माथिको लागि धौलागिरि अस्पताल बागलुङमा रिफर गर्ने गरिएको छ ।
गर्भपतन गराउन आउने महिलाको सम्पूर्ण स्वास्थ्य जाँच गरी पाठेघर, बच्चाको अवस्था र गर्भवती महिलालाई जोखिमको अवस्था अध्ययन गरेर मात्र गर्भपतन गराउने गरिएको छ । गर्भपतन गराउनेको परिचय सुरक्षित रहने भएकाले पनि इच्छा विपरीतको गर्भपतन गर्न आउनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो समय शिक्षाको पहुँच र जनचेतनाका कार्यक्रमले गर्दा सन्तानको रहर पुगेका तर स्थायी बन्ध्याकरण नगराएका दम्पती गर्भपतनका लागि धेरै आउने गरेका छन् ।