
काठमाडौं, ७ जेठ — चिनियाँ सरकारले सन् २०१० देखि २०१२ का बीचमा सीआईएका २० जना जासूसलाई मारेको वा जेल हालेको अनि यसकारण अमेरिकाको सूचना संकलन गर्ने क्षमतामा क्षति पुगेको द न्यु योर्क टाइम्सले लेखेको छ ।

सीआईएमा ह्याकिङ भयो कि कुनै घुसपैठियाले चिनियाँहरूलाई एजेन्ट चिनाइदियो भन्ने प्रस्ट हुन नसकेको अधिकारीहरूले टाइम्सलाई बताए ।
उनीहरूका अनुसार एक खबरीलाई एउटा सरकारी भवनको आँगनमा गोली हानी मारेर अरूलाई चेतावनी दिइएको थियो ।
सीआईएले यो रिपोर्टमाथि टिप्पणी गरेको छैन ।
सीआईएका चार पूर्वअधिकारीहरूले टाइम्ससँग कुरा गर्दै चिनियाँ सरकार र प्रशासतन्त्रमा भित्रैसम्म पहुँच पाएका स्रोतहरूबाट सन् २०१० पछि सूचना आउन छोडेको बताए । सन् २०११ पछि जासूसहरू नै हराउन थालेको उनीहरूले थपे ।
सीआईए र एफबीआईले यी घटनाहरूमाथि अनुसन्धान गर्नका लागि हनी ब्याजर नामक अपरेसन समेत सञ्चालन गरेका थिए ।
यो अनुसन्धान सीआईएका एक पूर्वजासूसमाथि केन्द्रित रहेको तर उनलाई पक्राउ गर्ने पर्याप्त प्रमाण नभेटिएको टाइम्स लेख्छ । ती जासूस अहिले अर्को एक एसियाली मुलुकमा बस्छन् ।
सन् २०१२ मा चीनको रक्षा मन्त्रालयका एक अधिकारीलाई अमेरिकाका लागि जासूसी गरेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई सीआईएमा छिर्न प्रलोभन दिइएको बताइएको थियो । यस्ता प्रकृतिका अन्य पक्राउहरू भने जनतामाझ पुगेका थिएनन् ।
धेरै जासूसहरू गायब हुँदा वर्षौं लगाएर बनाइएको सञ्जाल नै ध्वस्त भएको द न्यु योर्क टाइम्स लेख्छ । यसले गर्दा वर्षौंसम्म अपरेसनहरू गर्न नसकिएको अनि ओबामा प्रशासनले समेत किन सूचनाहरू आइरहेका छैनन् भनी प्रश्न गरेको पत्रिका लेख्छ ।
अधिकारीहरूका अनुसार हालका वर्षहरूमा सुरक्षा तोडिएको यो सबभन्दा खतरनाक घटना हो ।
तर सन् २०१३ देखि चिनियाँ सरकारले अमेरिकी एजेन्ट चिन्ने क्षमता गुमाएको जस्तो देखिएपछि सीआईएले सञ्जाल पुनर्निर्माण गर्न थालेको थियो ।
बीबीसीबाट