०२ असार २०८३, मंगलबार

संकटका बेला निःशुल्क बाख्रा पाएपछि विपन्न परिवारमा खुशीयाली

फागुन १३, २०७७
संकटका बेला निःशुल्क बाख्रा पाएपछि विपन्न परिवारमा खुशीयाली
प्रतिकात्मक तस्वीर

डोटीको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाडौंबासी इसरा बोहरा दम्पती आजकल खुशी छ ।

कोरोना महामारीमा जीविका चलाउन भन्दै भारत पसेका पति सन्तोष बोहरा काम नपाएर रित्तै हात घर फर्किए । उनको परिवारलाई अनुदानमा ३ बाख्रा दिइएपछि उनीहरूमा खुशीयाली छाएको छ ।

जिल्लामा वर्षौंदेखि काम गर्दै आएको सिड नेपाल नामक संस्थाले आफ्नोे दातृ संस्थाको सहयोगमा गाउँपालिकामा भएका दर्जनौं गरीब तथा विपन्न परिवारलाई निःशुल्क बाख्रा वितरण गरेपछि आफूहरूमा खुशीयाली छाएको सन्तोषले बताए ।

‘घरमा समस्या भएर कमाउनका लागि भारत गएको थिएँ, कोरोनाले कमाउन सकिनँ, घरैमा बसेको थिएँ, संस्थाका बाख्रा पाएपछि अब जीवन चलाउन सहज हुनेछ,’ उनले भने ।

उनीजस्तै वडामा बाख्रा पाएका स्थानीय, दलित तथा विपन्न परिवार अहिले निकै खुशी छन् । बाख्रापालनले जीवनयापनमा सहज भएको भन्दै गरीब तथा विपन्न वर्गमा खुशीयाली छाएको अर्का स्थानीय जवानसिंह बोहराले बताए । ‘आफूसँग बाख्रा किन्न रकम थिएन, अहिले संस्थाले घरैमा आएर निःशुल्क बाख्रा दिएकामा गरीब तथा विपन्न वर्ग खुशी भएका छन्,’ उनले भने ।

घरमा लगाइएको खेतीपातीले कम्तीमा पनि ५ महिनासम्म खान नपुग्ने गरेका विपन्न परिवारलाई बाख्रापालनबाट सहयोग होस् र आम्दानी बढोस् भनेर निःशुल्क बाख्रा वितरण गरिएको सिड नेपाल डोटीका कोषाध्यक्ष यज्ञराज जोशीले बताए । ‘रकम दिएर जीविका चलाउन नसकिने भएपछि बाख्रा दिँदा आम्दानी हुने तथा आयस्तर पनि बढ्ने अवस्था देखेपछि हामीले बाख्रा वितरण गरेका छौं, गरिखाने वर्गलाई राम्रै हुनेछ,’ उनले भने ।

संस्थाले दिएका ३ बाख्रासँगै स्थानीय किसानले आफूले पनि ऋण लिई बाख्रा किन्न थालेको धिर्कामाडौंकी दलित महिला सीतादेवी ढोलीले बताइन् । उनले भनिन्, ‘संस्थाले ३ बाख्रा दिएको छ, हामीले पनि ऋणपान गरी बाख्रा किनेका छौं, बाख्राले राम्रो आम्दानी हुने आश गरेका छौं, ५०/६० बाख्रा पुर्‍याएर यसलाई व्यवसायका रूपमा अगाडि बढाउने सोचमा छु ।’

salt training

कमेन्ट गर्नुहोस्