०१ असार २०८३, सोमबार

सत्ता साझेदारीका लागि प्रचण्ड–नेपालको दौडधूप

फागुन १४, २०७७
सत्ता साझेदारीका लागि प्रचण्ड–नेपालको दौडधूप

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार निर्माण र सत्ता साझेदारीका लागि दौडधूपमा छन् बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका दाहाल–नेपालले बिहीबार जनतासमाजवादी पार्टी (जसपा)का नेतालाई भेटेर सरकार निर्माणमा सहभागी हुन र सहकार्य गर्न आग्रह गरेका छन् ।

नेकपा कार्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग दाहाल नेपालले करिब १ घण्टा सरकार निर्माणबारे छलफल गरेका थिए । छलफलमा दाहाल–नेपालले सरकार निर्माणमा सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका छन् । सो छलफलमा जसपाका नेताहरूले दाहाल–नेपाललाई तपाईंहरूको पार्टी कुन हो भन्दै व्यंग्यसमेत गरेका छन् ।

छलफलमा बोल्दै अध्यक्ष दाहालले सत्ता समीकरणका लागि कांग्रेस सभापति देउवा पनि सकारात्मक रहेको बताउँदै जसपा नेताहरूलाई फकाउने प्रयास गरेका थिए । उनले प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटिसकेकाले अब मिल्ने सम्भावना नरहेको तथा कांग्रेस र जसपासहितका शक्तिसँग मिलेर आफूहरूले सरकार बनाउन चाहेको बताएका थिए ।

दाहाल–नेपालले सरकारमा सहकार्य प्रस्ताव गरे पनि जसपा नेताहरूले भने उनीहरूमाथि आधिकारिकताको प्रश्न उठाएका छन् । जसपा अध्यक्ष ठाकुरले दाहाल–नेपाललाई नेकपाको आधिकारिकताबारे प्रश्न उठाएका थिए ।

‘तपाईंहरूको पार्टी कुन हो ? पहिले तपार्इंहरूले पार्टीको टुंगो लगाउनुस्’, ठाकुरको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘यदि नेकपा नै यथावत् हो भने ठीकै छ । होइन, फुटेकै हो भने पनि तपार्इंहरूले राजनीतिक रूपमा मान्यता प्राप्त नगरी हामी सहकार्य गर्न सक्ने अवस्था रहँदैन ।’

सत्ता समीकरणका लागि गरेको प्रस्तावमा जसपाका अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठले पनि सरकार निर्माणका लागि पार्टी चाहिने तर्क राखेका थिए । ‘पहिलो कुरा त सरकार निर्माणका लागि तपाईंहरूको पार्टी चाहियो नि’ वरिष्ठ नेता महतोले भने, ‘पार्टीको कुरो टुंगो नलागी सरकार निर्माण कसरी अघि बढ्छ ? पहिले एउटै हो कि दुईवटा भइसक्यो ? त्यसलाई कानुनी रूपमा टुंगो लगाउनुस् अनि सरकारमा सहकार्यको कुरा अघि बढ्न सक्छ ।’

बैठकपछि बाहिरिँदा पनि आफूले त्यही कुरा राखेको जानकारी महतोले पत्रकारलाई दिएका छन् । ‘तपाईंहरूको कुन पार्टी हो ? पार्टी चाहियो नि त त्यसमा पहिले प्रस्ट हुनुहोस्’, बैठकमा आफ्नो भनाइबारे महतोले भने, ‘तपाईंहरूले राखेका सबै कुरा हामी हाम्रो पार्टीको बैठकमा छलफल गर्छौं भनेका छौं ।’

स्रोतका अनुसार बैठकमा जसपा नेताहरूले संविधान संशोधन र हाल जेलमा रहेका टीकापुर हत्याकाण्डका प्रमुख योजनाकार भनिएका सांसद रेशम चौधरीबारे साझा एजेन्डा बनाए सहयात्रा सम्भव हुने बताएका थिए । उनीहरूले यी दुई एजेन्डामा दाहाल–नेपाल तयार भएमा पार्टीले आधिकारिकता पाएपछि सरकारसम्मको सहयात्रा सम्भव हुने तर्क गरेका छन् ।

जसपा नेताहरूसँगको संवादका क्रममा दाहालले आफ्नै समूह आधिकारिक रहेको जिकिर गरेका थिए । उनले ओलीको प्रतिगामी कदमका कारण विभाजित पार्टी अब एक हुनै नसक्ने तर्क गर्दै बहुमत रहेकाले आफूहरू नै आधिकारिक रहेको तर्क गरेका हुन् ।

अर्का अध्यक्ष नेपालले पनि संसद्देखि पार्टीसम्म आफूहरूकै बहुमत रहेकाले सबैतिर आफूहरू नै आधिकारिक हुने व्याख्या बैठकमा गरेका छन् । तर, जसपा नेताहरूले जवाफमा दाहाल नेपाललाई ओलीको प्रतिगमन अदालतले सच्याए पनि संविधान बनाउँदा भएको प्रतिगमन पनि सच्चिनु नपर्ने मत राखेका छन् । उनीहरूले संविधान संशोधन गर्न तयार भए मात्रै सहयात्रा सम्भव हुने सर्त राखेका थिए ।

जसपाले बैठकमा संविधान संशोधनबारे कांग्रेस, एमाले र माओवादीसँग गरिएका सम्झौता कार्यान्वयन हुनुपर्ने अडान राखेका थिए । उनीहरूले टीकापुर हत्याकाण्डसहितका जोडिएका आफ्ना नेताकार्यकर्ता रिहा नभएसम्म सहकार्य असम्भव रहेको जवाफ दिएको स्रोतको दाबी छ । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्