
भूमिसम्बन्धी समस्या समाधान आयोगका सदस्य–सचिव लीलाप्रसाद शर्माले भूमिहीन दलित समुदायलाई आवासका लागि जग्गा उपलब्ध गराउने संवैधानिक व्यवस्थाबमोजिम आयोगले ७५३ वटै स्थानीय तहमा काम सुरु गरेको बताएका छन् ।
राष्ट्रिय दलित नेटवर्कको आयोजना तथा बाध्यकारी श्रम अन्त्यका लागि पैरवी समूह (फ्लेग) को सहकार्यमा बिहीबार हरवा–चरवा प्रथाको मुक्ति र पुनस्र्थापनाका अवसरबारे नीतिगत अन्तरसंवाद’ कार्यक्रममा सदस्यसचिव शर्माले सो कुरा बताए । आयोगले ७५३ वटा स्थानीय तहबाट एकसाथ काम आरम्भ गरेको र ४३१ स्थानीय तहसँग सम्झौता भइसकेको जानकारी दिए । २०७६ चैत ९ गते आयोग गठन भई अहिले ७७ वटै जिल्लामा समिति गठन गरी काम सुरु गरिएको जानकारी दिँदै उनले वास्तविक भूमिहीनको लगत लिन विभिन्न मापदण्ड बनाई काम भइरहेको प्रस्ट पारे । यस अवधिमा १६७ स्थानीय तहबाट लगत सङ्कलनको काममा ८० प्रतिशत प्रगति भइसकेको पनि उनले बताए ।