
काठमाडौं, ७ जेठ — भारतको बहुचर्चित टिभी गेम शो कौन बनेगा करोडपति (केबीसी) को नाम लिनेबित्तिकै अमिताभ बच्चनको तस्वीर दिमागमा आउँछ ।

उनको प्रश्न सोध्ने तरिका र वाणी तथा भनाइहरू दर्शकको मनमा गढेर बसेका छन् ।
कुल आठवटा सीजन चलेपछि बीचमा केबीसी हरायो । तर खबरहरूका अनुसार यसको नवौं सीजन आउन लागेको छ । बलिउड अभिनेत्रीले केबीसी चलाउने हल्ला छ । ऐश्वर्या राय र माधुरी दीक्षितमध्ये एकले चलाउने प्रबल सम्भावना रहेको बताइन्छ ।
तेस्रो सीजनमा अमिताभ बिरामी पर्दा शाहरुख खानले शो चलाएका थिए तर उनी खासै जम्न सकेनन् । त्यसैले अमिताभबाहेक अन्यले शो चलाउँदा कस्तो बन्ला भनी दर्शकहरूमा उत्सुकता छ ।
माधुरीले टिभीमा डान्स रियालिटी शो चलाएर सानो पर्दामा उपस्थिति जनाइसकेकी छन् । ऐश्वर्या भने टिभी कार्यक्रममा होस्टका रूपमा अहिलेसम्म देखापरेकी छैनन् ।
तर केबीसी निर्माताहरूले कुनै कुराको पनि आधिकारिक पुष्टि गरिसकेका छैनन् ।
एजेन्सी