१५ असार २०८३, सोमबार

रक्तरञ्जित पहाडहरू : यस्तो छ इथियोपिया नरसंहारको नालीबेली

फागुन १६, २०७७
रक्तरञ्जित पहाडहरू : यस्तो छ इथियोपिया नरसंहारको नालीबेली

अब्राहमले बिहानदेखि लाश गाड्न थालेका थिए । रात छिप्पिऊन्जेलसम्म उनले लाशहरू गाडिरहे । 

चर्चका सेता अनि त्यसमा रगत लागेर रातो भएका कपडामा लाशहरू बेरिएका थिए र बञ्जर भूमिमा यत्रतत्र फालिएका थिए । अन्य व्यक्तिहरूलाई हातमा पेटीले बाँधेर उनीहरूकै घरको दैलोमा गोली हानेर मारिएको थियो । 
 

मृतकहरूमा पुजारी, वृद्धवृद्धा, अनेकौं परिवार अनि सन्डे स्कूलका २० विद्यार्थी समेत रहेको प्रत्यक्षदर्शीहरूले बताए । 

अब्राहमले केही बालबालिकालाई तत्कालै चिनिहाले । उनीहरू इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा रहेको उनकै शहर एडागा हामुसका थिए । त्यहाँ दुई हप्ताअघि लडाइँ भएपछि उनीहरू भागेका थिए । 

लडाइँ चर्किंदै जाँदा अब्राहम र उनका परिवारका साथै सयौं अन्य विस्थापितहरू नजिकैको गाउँ डेंगेलाटतिर भागेका थिए । त्यो गाउँ अक्करे भीरमा रहेको छ । 

उनीहरूले शताब्दियौं पुरानो ऐतिहासिक चर्च मर्यम डेंगेलाटमा शरण लिएका थिए । 

गत नोभेम्बर ३० मा अनेकौं तीर्थयात्रीहरू त्सियोन मर्यम नामक पर्व मनाउन त्यहाँ भेला भएका थिए । त्यस दिन जेरुसेलमबाट आर्क अफ द कोभनेन्ट ल्याइएको विश्वास इथियोपियनहरूले गर्ने गरेका छन् । हप्तौंसम्म चलेको हिंसाबाट त्यो एक दिन मुक्ति पाइएको थियो तर त्यो दिन पनि लामो समय रहेन । 
 

इरिट्रियाली सैनिकहरूको एक समूहले पर्व मनाइरहेका सयौं तीर्थयात्रीमाथि गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताए । मानिसहरू पैदलै भाग्न खोजे । उनीहरू भीरको बाटो हुँदै छिमेकी गाउँहरूतिर भागे । सैनिकहरूले उनीहरूलाई पछ्याए अनि पहाडभरि गोली चलाउँदै हिँडे । 

सीएनएनले १२ जना प्रत्यक्षदर्शी, बाँचेकाहरूका २० जना नातेदार र घटनाका तस्वीरका आधारमा गरेको अनुसन्धानले भयावह दृश्यको वर्णन गरेको छ । 

सैनिकहरू घरघर गए मानिसलाई घरबाट बाहिर थुते । आमाहरूलाई आफ्नै छोरा बाँध्न लगाइयो । एकजना गर्भवती महिलालाई गोली हानियो, उनका पतिलाई मारियो । केही मानिस लाशमुनि लुकेर बाँचे । 

यो नरंसहार तीन दिनसम्म चल्यो । सैनिकहरूले स्थानीयहरू, विस्थापितहरू र तीर्थयात्रीहरूलाई सोत्तर पारे । डिसेम्बर २ मा बल्ल सैनिकहरूले अनौपचारिक अन्तिम संस्कारको अनुमति दिए तर कसैले शोक मनाएको देखेमा मारिदिने भन्दै धम्की दिए । अब्राहम लाश गाड्न अघि सरे । 

सैनिकहरूको तीखो नजरबाट बच्दै उनले आँसु रोकेर बालबालिका र किशोरहरूका शरीर संकलन गरे । उनीहरूको कपडाको गोजीबाट परिचयपत्र निकाले अनि उनीहरूको लवाइ वा केशविन्यासको सूक्ष्म टिपोट गरे । गोली हानेकाले कसैको अनुहार बिल्कुलै नचिनिने भएको थियो, अब्राहमले बताए । 

त्यसपछि उनले उनीहरूको शरीरलाई माटो र काँडेदार रुखको हाँगाले छोपे । उनीहरूलाई पानीले नबगाओस् वा हुँडार र गिद्धले नलुछून् भनी उनले प्रार्थना गरे । अन्त्यमा उनले गाडेको ठाउँमा उनीहरूको जुत्ता राखे । पछि मातापितालाई ल्याएर उनीहरूको पहिचान खुलाउन सकिन्छ कि भनेर उनले त्यसो गरेका हुन् । 

‘उनीहरूको हात बाँधिएको थियो । हामीले चारैतिर ससाना बालबालिका देख्यौं । एकजना वृद्ध व्यक्ति सडकमा मारिएका थिए । उनको उमेर त्यस्तै ८० वर्ष हुँदो हो । अनि सैनिकहरूले खुलमखुला सडकमा साना बच्चालाई मारे । मैले यस्तो नरसंहार कहिले पनि देखेको थिइनँ र फेरि कहिल्यै देख्न चाहन्नँ,’ अब्राहमले बताए । 

‘ईश्वरको कृपाले मात्र हामी बाँच्यौं ।’

त्यस दिन आफूले ५० जनाभन्दा बढीलाई गाडेको अब्राहम बताउँछन् । तर आक्रमणमा परी १०० भन्दा बढीको ज्यान गएको हुन सक्ने उनको अनुमान छ । 

नोभेम्बर महिनादेखि मारिएका सयौं नागरिकमध्ये उनीहरू पनि हुन् । सन् २०१९ मा नोबेल शान्ति पुरस्कार पाएका इथियोपियाली प्रधानमन्त्री आबी अहमदले टिग्रे क्षेत्रमा शासन चलाउने राजनीतिक दलविरुद्ध सैन्य कारवाही चलाएपछि उक्त नरसंहार भएको हो । 
 

आबी सन् २०१८ मा सत्तामा आउनुअघि लगभग तीन दशकसम्म टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) ले शासन चलाएको थियो । उसले सरकारी सेनाको अड्डामा आक्रमण गरेको र हतियार चोर्न खोजेको आरोप लगाउँदै आबीले सैन्य कारवाहीको आदेश दिएका हुन् । टीपीएलएफ यस आरोपलाई अस्वीकार गर्छ । 

दुई पक्षबीच तनाव बढ्दै जाँदा यस्तो हिंस्रक द्वन्द्व मच्चिएको हो । अफ्रिकाको दोस्रो सबभन्दा ठूलो जनसंख्या भएको मुलुक इथियोपियामा जातीय राष्ट्रवादी भिडन्तको यो सबभन्दा भयावह घटना हो । 

नोभेम्बर महिनाको अन्त्यमा टिग्रेका प्रमुख शहरहरूमा नियन्त्रण कायम गरेपछि आबीले विजयको घोषणा गरे र कारवाहीमा कुनै पनि नागरिकलाई क्षति नपुगेको दाबी गरे । इथियोपियाली सैनिकहरूलाई सहायता दिन इरिट्रियाका सैनिकहरू सीमा पार गरेर टिग्रेमा आएको कुरालाई पनि उनले खण्डन गरे । 

तर ग्रामीण र पहाडी क्षेत्रमा लडाइँ अहिले पनि जारी छ । त्यहाँ टीपीएलएफ र उसका सशस्त्र समर्थकहरू लुकिरहेको बताइन्छ । आबीले सत्ता मजबूत बनाउनका लागि गरेको प्रयासलाई उनीहरू प्रतिकार गरिरहेका छन् । 

हिंसा स्थानीय समुदायहरूमा पनि सरेको छ । सर्वसाधारण दोहोरो मारमा परेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले विगत दुई दशकमा शरणार्थीहरूको सबभन्दा भयावह पलायन यही भएको बताएको छ । 

नरसंहार रोकथामसम्बन्धी राष्ट्रसंघका विशेष सल्लाहकारले फेब्रुअरी महिनाको आरम्भतिर आफूहरूलाई गैरन्यायिक हत्या, यौन हिंसा, लुटपाट, सामूहिक हत्या र मानवीय सहायतामा पहुँचबाट रोक लगायतका घटनाका जानकारी दिइएको बताए । 

यीमध्ये अधिकांश ज्यादती इरिट्रियाका सैनिकहरूले गरेको बताइएको छ । आबीले इरिट्रियाका राष्ट्रपति इसासियास अफवेर्कीसँग गरेको अतिप्रशंसित शान्ति सम्झौताले साझा शत्रु टीपीएलएफविरुद्ध युद्ध गर्ने वातावरण तयार गरेको यसबाट देखिएको छ । 
 

इथियोपियालाई सीएनएनले यस विषयमा टिप्पणी गर्नका लागि अनुरोध गर्दा सरकारले डेंगेलाटमा भएको आक्रमणलाई सीधै सम्बोधन गरेन । उक्त क्षेत्रमा भएका भनिएका अपराधमा पूर्ण अनुसन्धान गरी सबै पीडकलाई न्यायको कठघरामा ल्याइने सरकारले बतायो तर अनुसन्धानको विस्तृत विवरण दिएन । 

सीएनएनले यस विषयमा टिप्पणी गर्न इरिट्रिया सरकारलाई पनि अनुरोध गरेको थियो तर उसले प्रतिक्रिया दिएको छैन । शुक्रवार इरिट्रिया सरकारले एम्नेस्टी इन्टरनेसनलको आरोपलाई खण्डन गर्दै टिग्रेमै भएको अर्को नरसंहारमा आफ्ना सैनिकहरू संलग्न नरहेको बतायो । 
 

टीपीएलएफले सीएनएनलाई एक बयान दिँदै नरसंहारको बेलामा आफ्ना सैन्यबलहरू डेंगालाटमा नभएको जनायो । टीपीएलएफ भन्ठानेर इरिट्रियाका सैनिकहरूले सर्वसाधारणको नरसंहार गरेको हुनसक्ने अनुमानलाई उसले अस्वीकार गर्‍यो र युद्धका क्रममा भएका ज्यादतीका लागि सबै पक्षलाई जवाफदेही बनाउनका लागि संयुक्त राष्ट्रसंघलाई अनुसन्धान गर्न आह्वान गर्‍यो । 

अहिले पनि उक्त क्षेत्रको स्थिति स्पष्ट छैन । इथियोपिया सरकारले सञ्चारकर्मीहरूलाई त्यहाँ जान दिएको छैन अनि सरकारको नियन्त्रणमा रहेको क्षेत्रबाहेक अन्यत्र सहायता पुर्‍याउन पनि दिएको छैन । त्यसले गर्दा बाँचेका मानिसहरूबाट घटनाको पुष्टि गराउन पनि गाह्रो परेको छ । 

अनि युद्धका बेलामा बारम्बार सञ्चार सुविधा बन्द गरिएकाले बाँकी विश्वले युद्धका विषयमा खासै केही थाहा पाउन सकेन । 

अहिले क्रमशः पर्दा हटाइँदैछ । टिग्रेबाट भागेका प्रत्यक्षदर्शीहरू इन्टरनेटको पहुँचमा छन् र फोनका लाइनहरू पनि चल्न थालेका छन् । उनीहरूले जातीय हिंसाको कारकका रूपमा रहेको विनाशकारी द्वन्द्वको विस्तृत विवरण प्रस्तुत गरेका छन् । 

नरसंहार गरिएको तीन महिनापछि डेंगेलाटका चिहानहरूले गाउँमा बसिरहेका मानिसलाई रक्तपातको दैनिक स्मरण गराउँछन् । तर मृतकका शरीरलाई पुनः धार्मिक रीतिरिवाजका साथ गाड्नका लागि अझै पनि सुरक्षित स्थिति बनेको छैन र यो वास्तविकताले उनीहरूलाई पीडा दिइरहेको छ ।

सीएनएनको वेबसाइटमा प्रकाशित यो फीचर एलिजा म्याकिन्तोशले रिपोर्टिङ गरी लेखेकी हुन् । यसमा बारबरा अर्वानिटिड्स, निमा एल्बागिर, बेथलेहम फेलेके, जियानलुका मेज्जोफियोर र केटी पोलग्लासेले पनि रिपोर्टिङ गरेका हुन् । लामो फीचरको संक्षेपीकरण गरी नेपालीमा अनुवाद लोकान्तरका लागि विन्देश दहालले गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्