
नेकपा (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएर टसल गर्न आए उनका लागि वियोगान्त हुने बताएका छन् ।
राजीनामा नदिए प्रतिनिधि सभाले विकल्प खोज्ने उनको भनाइ छ ।
प्रेस संगठन प्रदेश २ को भेलालाई आइतवार जनकपुरमा सम्बोधन गर्दै भट्टराईले अब बस्ने प्रतिनिधि सभाले ओलीमाथि कारवाही गर्ने दाबी गरे ।
‘तीन करोड नेपालीको भाग्य र भविष्यमाथि खेलबाड गर्ने प्रधानमन्त्रीलाई कारवाही नगरेर प्रतिनिधि सभाले आफ्नो मृत्यु पत्रमा सही गर्ने छैन । आफ्नो मलामी आफैँ जाने घातक निर्णय गर्ने छैन,’ भट्टराईले भने ।
सर्वोच्च अदालतले फैसला गरिसक्दा पनि प्रधानमन्त्री पदमा बसिराख्नु अनैतिक भएको उनले दाबी गरे । ‘नैतिकरूपमा पद त्याग गर्नु आजका लागि उत्तम विकल्प हो । राजीनामा नगरे प्रतिनिधि सभाले त्यसपछि विकल्प खोज्छ, हठ लिनुभयो र दम्भ प्रकट गर्नुभयो भने उहाँका लागि वियोगान्त हुनेछ । प्रधानमन्त्रीलाई त्यो ठाउँमा नपुग्न आग्रह गर्छु,’ भट्टराईले भने ।
नेता भट्टराईले ओलीले लचकता देखाएमा नेकपा एकताको झिनो सम्भावना बाँकी नै रहेको दाबी गरे ।
‘एक ठाउँ बाँकी छ, ओलीले लचकता देखाउनुभयो भने विभाजित नेकपा एक गर्न सक्ने झिनो आशा र सम्भावना बाँकी छ । एकताका लागि हामी प्रयत्नशील छौं । दुई/तीन महिनाको घटनाबाट शिक्षा लिऔं । त्यसका लागि सबभन्दा बढी भूमिका खेल्नु पर्नेछ, आजका प्रधानमन्त्रीले मार्ग प्रशस्त गरेर,’ उनले भने ।