०८ असार २०८३, सोमबार
गृहजिल्लामा ओली

प्रचण्ड–नेपाल पक्षलाई ओलीको चुनौती– 'राजीनामा दिन्नँ, अविश्वास प्रस्ताव ल्याएर हटाउनुस्'

फागुन १६, २०७७
प्रचण्ड–नेपाल पक्षलाई ओलीको चुनौती– 'राजीनामा दिन्नँ, अविश्वास प्रस्ताव ल्याएर हटाउनुस्'

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाएर देखाउन चुनौती दिएका छन् ।

आफूलाई हटाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग अनुनय विनय गरेपनि देउवाले जवाफ नदिएपछि अँध्यारो मुख लगाएर फर्किएको उनले दाबी गरे । 

झापाको कमल गाउँपालिकामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको आइतवार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाए आफू फेरि जनताबाट निर्वाचित भएर दाबी समेत गरे ।

‘विमानस्थलमा ओर्लेपछि सेक्युरिटीले कहाँ जाऊँ भन्दा साथीहरूले बूढानीलकण्ठ लागेछन्, नन्दी भृंगी जम्मा भएर सरकार बनाऔं भन्ने प्रस्तावमा पार्टीमा छलफल गर्नुपर्ने भनेपछि प्रस्ताव लिएकाहरू अँध्यारो मुख लगाएर फर्के,’ ओलीले भने, ‘अर्को ठाउँमा गएर सबै मिलेर जाऊँ भन्दा तपाईंहरू कुन पार्टीबाट आउनुभएको भनेपछि झस्याङ्ग भए नेताहरू ।’

प्रचण्ड र नेपालसँग जसपाले पार्टीको आधिकारिकताबारे प्रश्न गरेको थियो । 

ओलीले यसअघि पहिलोपटक प्रधानमन्त्री बन्दा पनि अविश्वासको प्रस्ताव राखेर हटाइएको स्मरण गर्दै अहिले पनि हटाउन चुनौती दिए । 

‘संसदीय दलको नेता केपी ओली हो । म राजीनामा दिन्नँ । तपाईंहरूले मुद्दा लडेर संसद् पुनःस्थापना भएको हो । केपी ओलीलाई हटाएर देखाउनुस् न, अविश्वासको प्रस्ताव राखेर हटाएर देखाउनुस् । पहिला पनि अविश्वासको प्रस्तावबाट हटाएको हो, हटाउन सक्नुभएछ भने म फेरि ३ करोड नेपालीबाट निर्वाचित भएर आउँछु,’ ओलीले भने । 

ओलीले राजतन्त्रसँग लडेको आफू प्रचण्ड–नेपालसँग नडराउने बताए । ‘झुसेबारुलाहरूले फुर्ती नलगाए हुन्छ,’ उनले भने । 

प्रधानमन्त्री ओलीले आइतवार नै औद्योगिक पार्कको शिलान्यास गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्