०५ साउन २०८३, मंगलबार

चीनले कसरी गर्‍यो देशमा गरीबी उन्मूलन ?

फागुन १६, २०७७
चीनले कसरी गर्‍यो देशमा गरीबी उन्मूलन ?

चीनका राष्ट्रपति सी चिनफिङले १० करोड मानिसलाई गरीबीबाट माथि उकासेको बताएका छन् । 

सन् २०१२ मा आफू राष्ट्रपति बन्दा यो महत्त्वाकांक्षी लक्ष्य राखेको र यसमा सफल भएको उनको भनाइ छ । 

कसरी चीनले यति धेरै मानिसलाई गरीबीको रेखाबाट माथि उठाउन सफल भयो भनी मानिसहरू प्रश्न गरिरहेका छन् । 

चीनमा गरीबीको परिभाषाअनुसार, ग्रामीण इलाकामा बस्ने कुनै व्यक्तिले प्रतिदिन २.३० डलरभन्दा कम कमाउँछ भने उसलाई गरीब मानिन्छ । 

यसमा कमाइका साथै रहनसहनका स्थिति, स्वास्थ्य सेवा र शिक्षामा पनि विचार गर्ने निश्चित गरिएको थियो । 

चीनका फरक फरक प्रान्त यस लक्ष्य हासिल गर्ने प्रतिस्पर्धामा थिए । उदाहरणका लागि, जियाङ्सुले अघिल्लो वर्ष जनवरीमा आठ करोड जनसंख्यामध्ये अहिले जम्मा १.७ करोड मानिस गरीब रहेको घोषणा गरेको थियो । 

चीन सरकारले राष्ट्रिय बेन्चमार्कलाई विश्व बैंकको वैश्विक स्तरमा १.९० डलर प्रतिदिनको कमाइभन्दा अलिकति मात्र माथि राखेको छ । 

सन् १९९० मा चीनमा ७५ करोडभन्दा बढी मानिस गरीबीको रेखामुनि थिए । त्यो चीनको कुल जनसंख्याको लगभग दुईतिहाइ थियो । 

सन् २०१२ सम्म यो संख्या घटेर नौ करोडभन्दा कममा आइपुग्यो । सन् २०१६ मा आइपुग्दा यो ७२ लाखमा झर्‍यो । 

अर्थात्, सन् २०१६ मा नै चीन आफ्नो लक्ष्यप्राप्ति एकदम नजिक पुगेको थियो । 

विगत ३० वर्षमा चीनमा अतिविपन्न मानिसको संख्या ७४.५ करोडले घटेको यसबाट थाहा हुन्छ । 

भियतनाममा पनि यस अवधिमा गरीबी दरमा नाटकीय गिरावट आएको छ । 

भारतको लगभग २२ प्रतिशत जनसंख्या अन्तर्राष्ट्रिय मापदण्डको हिसाबमा गरीबीको रेखामुनि जीवनयापन गरिरहेको थियो । भारतको आँकडा सन् २०११ सम्मका लागि मात्र उपलब्ध छ । 

चीनको बढी फोकस सबभन्दा बढी गरीब भएको ग्रामीण इलाकामा छ । 

सरकारले टाढाटाढाका गाउँमा बस्ने लाखौं मानिसलाई अपार्टमेन्ट कम्प्लेक्समा राखेको छ । 

द इकोनोमिस्ट पत्रिकाका डेभिड रेनी भन्छन्, ‘चीनले विगत ४० वर्षमा असाधारण काम गरेको विषयमा कुनै सन्देह छैन ।’

तर मानिसहरूलाई अतिविपन्नको स्थितिबाट बाहिर निकाल्ने श्रेय सरकार मात्रलाई दिन मिल्दैन । 
 

रेनी भन्छन्, ‘चिनियाँ जनताले निकै कठोर परिश्रम गरेका छन् र आफैं गरीबीबाट उठेका छन् । माओको पालामा लागू गरिएका कतिपय बकम्फुसे आर्थिक नीतिलाई पूँजीवाद अपनाउँदै त्यागिएको थियो ।’

माओ च तुङले सन् १९४९ मा पिपुल्स रिपब्लिक अफ चाइनाको सूत्रपात गरेका थिए । उनले सन् १९५० को दशकमा देशका कृषि अर्थव्यवस्थाको औद्योगिकीकरणको प्रयास गरेका थिए । 

सन् १९५८ मा उनले शुरू गरेको ग्रेट लीप फरवार्डको हानिकारक नीतिका कारण किसानहरू कम्युनमा परिणत हुन बाध्य भएका थिए । त्यसले गर्दा गाउँहरूमा भोकमरी उत्पन्न भयो । 

त्यसपछि चीनले अतिविपन्नताको स्थितिबाट उकास्ने दिशामा कठोर परिश्रम गरेको छ । तर उसले थप उच्च मापदण्ड सहितको लक्ष्य अपनाउनु पर्दैनथ्यो त ? 

उदाहरणका लागि, विश्व बैंकले उच्च मध्य आय भएका देशका लागि गरीबीको थप उच्च रेखा निश्चित गरेको छ । 

यसमा दिनको ५.५० डलरको मापदण्ड राखिएको छ । विश्व बैंकले चीन अब उच्च मध्य आय भएको मुलुक बनेको बताएको छ । 

यस आधारमा हेर्दा चीनको लगभग एक चौथाइ जनसंख्या गरीबीको दायरामा पर्छ । 

अनि चीनमा व्यापक मात्रामा आयमा असमानता छ । 

पोहोर साल चीनका प्रधानमन्त्री ली खछ्याङले चीनमा ६० करोड मानिसको महिनाको कमाइ जम्मा १ हजार युआन रहेको बताएका थिए । यसले एक शहरमा एक कोठा भाडामा लिन समेत नसकिने उनको भनाइ थियो । 

तर हरेक हिसाबमा हेर्दा चीनले लाखौं मानिसलाई छोटो समयको अन्तरमा अतिविपन्नको स्थितिबाट बाहिर निकालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्