
भक्तपुर, ७ जेठ — नेपाल मजदुर किसान पार्टीको बाहुल्य रहेको भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनील प्रजापति निर्वाचित भएका छन् । भक्तपुर नगरपालिकालाई देशकै नमूना नगर बनाउने नेमकिपाको योजना छ ।

भक्तपुर नगरपालिकाको स्वामित्वमा रहेको ख्वपः इन्जिनियरिङ कलेज शिक्षा क्षेत्रमा ब्रान्ड नै बनेको छ । ‘हामीले ठूला कुरा गरेका छैनौं, पार्टीको घोषणापत्र अनुसार नै काम गर्ने हो,’ नवनिर्वाचित मेयर प्रजापतिले लोकान्तरसँग भने, ‘वडावडामा शिशु स्याहार केन्द्र खोल्नदेखि वृद्धवृद्धाका लागि आदर निकेतन खोल्ने घोषणापत्रमार्फत प्रतिबद्धता गरेका छौं ।’
वृद्धवृद्धाको मनोरञ्जनका लागि ‘आदर निकेतन’ खोल्ने नेमकिपाको घोषणापत्रका उल्लेख छ ।
३१ वैशाखमा भएको स्थानीय निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारलाई फराकिलो मतअन्तरले पराजित गर्दै प्रजापति भक्तपुरको मेयर बनेका थिए । उपमेयरसहित बहुमत पदाधिकारी नेमकिपाकै चुनिएका छन् । निर्वाचन भएका कतिपय नगरपालिकामा मतणना जारी रहदा प्रजापतिले आइतवार नै शपथ गरेर काम प्रारम्भ गरिसकेका छन् ।
विगतमा पनि नेमकिपाले चुनाव जितेको भक्तपुरमा नगरपालिकाको स्वामित्वका शिक्षण संस्था र स्वास्थ्य संस्था सञ्चालनमा छन् । ‘२५ शैयाको ख्वपः अस्पतालका लागि सरकारले स्वीकृति दिइसकेको छ, अब भवन निर्माणको काम गर्छौंै,’ प्रजापतिले भने । स्थानीय निकाय रिक्त रहेको समयमा पनि विकास निर्माणका काम र भूकम्पपछिको पुनर्निर्माणमा नेमकिपाले भक्तपुरमा सहयोग गर्दै आएको थियो ।
विगतदेखि नै नमूना रहेको भक्तपुरलाई देशकै सफा, स्वच्छ र आकर्षक नगरपालिका बनाउने नेमकिपाको योजना छ । पारदर्शिता र सुशासनमा भक्तपुर यसअघि पुरस्कृत भएको थियो ।
‘नगरभित्र सरसफाइमा कमी भएको छ, हनुमन्ते खोला फोहोर भएको छ,’ प्रजापतिले भने, ‘नगरको सरसफाइ पनि हाम्रो प्राथमिकताको विषय हो, हनुमन्तेलाई सफा गर्न दुईवटा सरसफाइ पोखरी बनाउने योजना छ ।’
विश्वविद्यालय चलाउने योजना
भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको ख्वपः इन्जिनियरिङ कलेजलाई विश्वविद्यालय बनाउने योजना रहेको प्रजापतिले बनाए ।
‘विश्वविद्यालयसम्बन्धी विधेयक सांसदको हातमा पुगिसकेको छ, संसदबाट पारित भयो भने ख्वपः विश्वविद्यालय चलाउने योजनाले मूर्त रूप लिनेछ,’ प्रजापतिले लोकान्तरसँग भने ।
पहिलो संविधानसभामा सभासद रहेका प्रजापतिले त्यसबेला पनि ख्वपः विश्वविद्यालय स्थापनका लागि संसदमा माग गरेका थिए । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिले स्थलगत अध्ययन गरेको थियो ।
भक्तपुरमा कलात्मक मोहडासहित घर बनाउन प्रोत्साहित गर्ने र त्यस्तालाई सहयोग गर्ने यसअघिको कार्यक्रमलाई निरन्तरता दिने उनीहरूको योजना छ । यसअघि भक्तपुरको मेयर रहेका प्रेम सुवाल भने यसपटक सांसद छन् ।
‘भक्तपुरलाई सफा, स्वच्छ र सांस्कृतिक नगर, पर्यटकीय गन्तव्यस्थल र शिक्षाको केन्द्र बनाउने हाम्रो योजना हो,’ सांसदसमेत रहेका पूर्वमेयर सुवालले भने, ‘यसैमा लागि परेका छौं, पार्टीको घोषणापत्र अनुसार नै काम गर्छौं ।’
नगरपालिकाले सञ्चालन गरेका ७ वटा कलेजमा ७४ जिल्लाका ७४ जिल्लाका ५ हजार विद्यार्थीले पढ्ने गरेको सुवालले बताए । ‘महानगरपालिका भन्नेहरूले पनि शिक्षण संस्था चलाउन सकेका छैनन्,’ सुवालले भने, ‘हामी भक्तपुरलाई शिक्षामा नमूना बनाउँछौं ।’
शिक्षामा भइरहेको व्यापारीकरणको विरोध गर्दै आएको नेमकिपाले सरकार र समुदालयले नमूना शैक्षिक संस्था चलाउन सक्छन् भनेर प्रमाणित गरेको स्थानीयहरू बताउँछन् ।