
इटलीको पम्पेईमा दुई हजार वर्ष पुरानो रथ यथावत रूपमा फेला परेपछि पुरातत्त्वविद्हरू खुशी भएका छन् ।
रोमनकालको स्पोर्ट्स कार पत्ता लागेको जस्तो असाधारण खोज भएको एक विज्ञले बताए ।
‘
मैले यसअघि धेरै वाहनहरूका बारेमा लेखेको छु । पहिलेका वाहनहरू ससाना थिए । यो त लाम्बोर्गिनी हो । यो निकै फेन्सी कार हो,’ मासाचुसेट्स एमहर्स्ट विश्वविद्यालयका शास्त्रीय प्राध्यापक एरिक पोएलरले बताए ।
यस विशाल रथमा चारवटा फलामे पांग्रा, हात र ढाड अड्याउने विलासी धातुको ठाउँ र दुईजनाका लागि आरामदायी सीट, सुन्दर तामा र टिनका सजावटहरू छन् । अप्सरा र क्युपिडका चित्रहरू कुँदिएका छन् ।
दुई हजार वर्षअघि भेसुभियस पर्वतमा ज्वालामुखी विस्फोट हुँदा पम्पेई पुरिएको थियो । तर पोर्टिकोमा राखिएकोले रथ यथावत अवस्थामा रहन सकेको थियो ।
त्यसपछिका शताब्दीहरूमा लुटेराहरूले यस क्षेत्रमा सुरुङ खनेर सामान चोरेका थिए तर उनीहरूको आँखामा यो रथ पर्न पाएन ।
गत जनवरी ७ मा रथ पत्ता लागेदेखि पुरातत्त्वविद्हरूले हप्तौं मेहनत गरेर यसको अनावरण गर्न सफल भएका थिए । टोलीले यसमा क्षति नपुग्ने गरी विशेष प्रविधि अपनाएर यसलाई सार्वजनिक गरेका हुन् ।