
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक फागुन १९ गते बस्ने भएको छ ।
सोमवार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपाको केन्द्रीय कमिटीको बैठक फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको नेता विष्णु रिजालले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।
सिंहदरबारमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा अधिवेशनमा प्रस्तुत हुने रणनीति तय गर्न बैठक बोलाउने निर्णय गरेको हो ।
पार्टीको आधिकारिकता दिन निर्वाचन आयोगमा बुझाएको निवेदनबारे यथाशीघ्र निर्णय लिन समेत सचिवालय बैठकले आग्रह गरेको छ । यसअघि प्रचण्ड–नेपाल समूहले गरेका निर्णयलाई समेत आयोगले अभिलेखीकरण गरेको थिएन ।
सर्वाेच्च अदालतको आदेश अनुसार प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्न सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।