०५ साउन २०८३, मंगलबार

चीनसँगको प्रतिस्पर्धामा भारतीय सेनाले काराकोरमदेखि लिपुलेकसम्मको यात्रा गर्ने

फागुन १७, २०७७
चीनसँगको प्रतिस्पर्धामा भारतीय सेनाले काराकोरमदेखि लिपुलेकसम्मको यात्रा गर्ने

भारतीय सेनाले पर्वतारोहणका साथै अनुसन्धान समेत गरेर देशको उत्तरी सीमामा भारतको वैध दाबीलाई स्थापित तथा प्रकाशित गर्ने जमर्को गरेको भारतीय पत्रिका द टाइम्स अफ इन्डियाले लेखेको छ । 

रक्षा संवाददाता रजत पण्डितको बाइलाइनमा प्रकाशित समाचारमा उल्लेख भएबमोजिम, लद्दाखको काराकोरम पासदेखि लिपुलेक पाससम्मको लगभग १५ सय किलोमिटर क्षेत्रमा स्कीइङ गर्ने भारतीय सेनाको सोच छ । यसको आरम्भ बुधवारबाट गरिनेछ ।

‘चीनले विस्तारवादी नीति अपनाएर भूभागमा कब्जा गर्न खोजेकोले त्यसको प्रभावकारी सामना गर्नु जरूरी छ । सेनाले उत्तरी सीमामा थप बल तथा हातहतियारका साथ शक्ति सन्तुलन बनाएको छ भने पर्वतारोहण तथा अन्य क्रियाकलापमार्फत आफ्नो उपस्थिति जनाउन पनि खोजेको छ,’ एक वरिष्ठ अधिकारीले बताए । 

भारतले वास्तविक नियन्त्रण रेखा तथा अन्तर्राष्ट्रिय सीमा दुवैमा गरेको भूभागीय दाबीलाई व्यापक रूपमा प्रकाशित गर्न खोजेको छ । विज्ञहरूले गरेको अनुसन्धान अध्ययनलाई प्रोत्साहन गर्नुपर्ने अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित पनि गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । यसक्रममा दस्तावेजीकरण, जियोट्यागिङ र प्रमाण संकलन गरिने उनले बताए । 

स्कीइङ एक्सपिडिसनलाई आरामेक्स २१ नाम दिइएको छ । काराकोरम पासबाट लिपुलेकसम्म ८० देखि ९० दिन लगाएर लद्दाख, हिमाचल, गढवाल र कुमाउँ क्षेत्रमा वास्तविक नियन्त्रण रेखा नजिक यात्रा गर्ने कार्यक्रम रहेको छ । 

यसका लागि विशेष तालिमप्राप्त सैनिकहरूले १४ देखि १९ हजार फीट अग्ला पाराङ ला, लामखागा र मालारीमा पनि यात्रा गर्नेछन् । 

कमेन्ट गर्नुहोस्