
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् ।
सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।
यसअघि सरकारले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश गरेको थियो ।
संविधानको धारा ९३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसदको दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ । प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रिय सभाको अधिवेशन पुस १८ गते शुरू भएर २७ गते टुंगिएको थियो ।
नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको समयमा गत असार १८ गते सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेको थियो । संविधानको व्यवस्था अनुसार हिउँदे अधिवेशन शुरू गर्न १३ दिन बाँकी रहेको समयमा पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरिएको थियो ।
प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना गरिदिएको थियो ।
