०९ असार २०८३, मंगलबार

स्लोभाकियाद्वारा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताको समर्थन

असार ४, २०८३
काठमाडौं
स्लोभाकियाद्वारा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताको समर्थन

मध्य युरोपेली राष्ट्र स्लोभाकियाले परिमार्जित संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा स्थायी सदस्यताका लागि भारतको दाबेदारीलाई बलियो समर्थन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक स्लोभाकिया भ्रमणका क्रममा दुवै देशले आफ्नो द्विपक्षीय सम्बन्धलाई 'व्यापक साझेदारी'को तहमा स्तरोन्नत गरेका छन् । सन् १९९३ मा स्लोभाकिया स्वतन्त्र भएयता कुनै पनि भारतीय प्रधानमन्त्रीले गरेको यो पहिलो भ्रमण हो ।

प्रधानमन्त्री मोदी र उनका स्लोभाक समकक्षी रोबर्ट फिकोबिच सोमबार ब्रातिस्लाभामा भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त वक्तव्यमा संयुक्त राष्ट्रसङ्घ र सुरक्षा परिषद्सहितका बहुपक्षीय संस्थाहरूलाई समसामयिक भू-राजनीतिक यथार्थता अनुरूप थप प्रतिनिधित्वमूलक, समावेशी र पारदर्शी बनाउन व्यापक सुधारको आवश्यकता औंल्याइएको छ ।

दुवै नेताले सुरक्षा परिषद्को स्थायी र अस्थायी दुवै श्रेणीमा सदस्य सङ्ख्या विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । यस सन्दर्भमा सुधारिएको र विस्तारित सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि स्लोभाकियाले निरन्तर गरिरहेको समर्थनप्रति भारतले आभार प्रकट गरेको छ । भारतले वर्तमान १५ सदस्यीय सुरक्षा परिषद्को संरचना पुरानो भइसकेको र यसले आधुनिक विश्वको प्रतिनिधित्व नगर्ने भन्दै लामो समयदेखि स्थायी सदस्यताका लागि दबाब दिँदै आएको छ । भारतको यस अभियानलाई धेरै युरोपेली राष्ट्रहरू र जी ४ समूह (ब्राजिल, जर्मनी र जापान) का सदस्यहरूले समर्थन गर्दै आएका छन् ।

यसका साथै, ४८ राष्ट्र सदस्य रहेको बहुपक्षीय निर्यात नियन्त्रण संयन्त्र 'न्यूक्लियर सप्लायर्स ग्रुप'मा भारतको सदस्यताका लागि स्लोभाकियाले आफ्नो रचनात्मक दृष्टिकोणलाई पुनः दोहोर्‍याएको छ ।

बैठकमा दुवै प्रधानमन्त्रीले सीमापार आतंकवादसहित जुनसुकै रूप र स्वरूपमा हुने आतंकवादको कडा शब्दमा भर्त्सना गरेका छन् । विशेष गरी गत वर्ष अप्रिल २२ मा जम्मू-कश्मीरको पहलगाममा लस्कर-ए-तैयबाका आतंकवादीहरूले २६ जना सर्वसाधारणको गोली हानी हत्या गरेको आतंकवादी आक्रमणको उनीहरूले तीव्र निन्दा गरे ।

आतंकवाद विरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन दुवै देशले 'काउन्टर-टेररिज्म सम्बन्धी संयुक्त कार्यदल' स्थापना गर्ने सहमति गरेका छन् । उनीहरूले राष्ट्रसङ्घको १२६७ प्रतिबन्ध समितिद्वारा घोषित आतंकवादी, तिनका प्रतिनिधि, प्रायोजक र आर्थिक सहायता गर्नेहरू विरुद्ध कडा कारबाहीको माग गरेका छन् । साथै, राष्ट्रसङ्घमा अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी व्यापक महासन्धिलाई चाँडै अन्तिम रूप दिई पारित गर्न सँगै मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

रक्षा क्षेत्रमा सहयोग बढाउन दुवै नेताहरू रक्षा प्रविधि, अनुसन्धान र विकास, क्षमता अभिवृद्धि र रक्षा औद्योगिक सहकार्यलाई सुदृढ गर्न सहमत भएका छन् । यसै सिलसिलामा रक्षा सहकार्यसम्बन्धी आशय पत्रमा समेत हस्ताक्षर गरिएको छ ।

साइबर सुरक्षाका क्षेत्रमा दुवै देशले महत्त्वपूर्ण सूचना पूर्वाधारको संरक्षण गर्न र साइबर अपराध विरुद्ध लड्न डिजिटल स्पेसलाई सुरक्षित, स्थिर र अन्तर-सञ्चालनयोग्य बनाउने वाचा गरेका छन् । उनीहरूले क्रिप्टोग्राफीमा देखा पर्ने अत्याधुनिक 'क्वान्टम थ्रेट्स'बाट सूचना प्रविधि प्रणालीलाई जोगाउन पोस्ट-क्वान्टम सुरक्षा संक्रमणकालीन पूर्वतयारीमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

यसै वर्षको जनवरीमा सम्पन्न भएको भारत-युरोपेली सङ्घ स्वतन्त्र व्यापार सम्झौताको वार्ता निष्कर्षको स्वागत गर्दै नेताहरूले व्यापार र लगानीका नयाँ अवसरहरू खोल्न यसलाई चाँडै हस्ताक्षर र कार्यान्वयन गर्न आह्वान गरे । आर्थिक सहकार्यका उच्च सम्भावना भएका क्षेत्रहरू पहिचान गर्न भारत-स्लोभाकिया संयुक्त आर्थिक समितिको भूमिकालाई थप सुदृढ गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्