०६ असार २०८३, शनिबार

कारागारभित्र कैदीबन्दीबीच झडप भएपछि अध्ययन गर्न छानबिन समिति गठन

फागुन १७, २०७७
कारागारभित्र कैदीबन्दीबीच झडप भएपछि अध्ययन गर्न छानबिन समिति गठन
प्रतिकात्मक तस्वीर

जिल्ला प्रशासन कार्यालय तनहुँले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ ।

कारागारका कैदीबन्दीबीच आइतवार झडप भएपछि प्रशासन कार्यालयले कारागारको विविध पक्षको अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । 

प्रशासन कार्यालयले सोमवार प्रेस विज्ञप्तिमार्फत ३ सदस्यीय छानबिन टोली गठन गरिएको जानकारी दिएको छ ।

विवादित र झगडामा संलग्न कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको र हाल कारागारको सम्पूर्ण स्थिति सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए ।

‘घटना सम्बन्धमा कारागारभित्रका विविध पक्षको अध्ययन, छानबिन गरी आवश्यक सुझाव सहितको प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ,’ बरालले भने । 

कारागार कार्यालयभित्र रहेको ब्लक बीमा आन्तरिक प्रशासनको जिम्मेवारीमा रहेका कैदी र सोही ब्लकमा रहेका अन्य थुनुवा, कैदीबीच कारागारभित्रको सेवा सुविधामा विभेद गरेको भन्ने विषय बनाएर झगडा हुँदा ५ कैदी घाइते भएका थिए ।

उनीहरूलाई दमौली अस्पतालमा उपचारपश्चात् कारागारमै फिर्ता गरिसकिएको छ । कारागारका निमित्त जेलर नारायण अधिकारीका अनुसार झगडामा संलग्न २५ कैदीबन्दीलाई स्थानान्तरण गरिसकिएको छ । सुरक्षा निकायको बैठकको निर्णय अनुसार उनीहरूलाई आइतवार राति नै स्थानान्तरण गरिसकिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्