केही महिनाअघि भारतको मुम्बईमा विद्युत् आपूर्ति ठप्प हुनुमा भारत र चीनबीचको सीमा तनाव जिम्मेवार रहेको हुन सक्ने संकेत पाइएको छ ।
द न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार, चीनले भारतलाई सीमामा बढी जोड नगर्नू भन्ने संकेत दिनका लागि साइबर आक्रमण गरेको र मुम्बईको विद्युत् आपूर्ति रोकेको हुन सक्ने देखिएको छ ।
न्युयोर्क टाइम्सले उद्धृत गरेको प्रतिवेदनमा उल्लेख भएअनुसार, भारतीय र चिनियाँ सैनिकहरू सीमामा आमनेसामने हुँदा भारतको विद्युत् आपूर्तिका लागि जिम्मेवार कन्ट्रोल सिस्टममा मालवेयर राखिएको थियो ।
सन् २०२० को नोभेम्बर महिनामा महाराष्ट्र साइबर विभागले विद्युत् आपूर्ति ठप्प हुनुमा मालवेयर आक्रमण जिम्मेवार रहेको ठहर गरेको थियो । त्यसअघि अक्टोबर १२ मा मुम्बईमा बिहान १० बजेदेखि १२ बजेसम्म विशाल क्षेत्रमा विद्युत् आपूर्ति ठप्प भएको थियो ।
महाराष्ट्र साबइर ब्युरोको अनुसन्धानमा पादगाह भारप्रेषण केन्द्रमा मालवेयर आक्रमणको स्रोत फेला परेको थियो ।
त्यस मालवेयरको ट्रेसिङ रेकर्डेड फ्युचर नामक साइबरसेक्युरिटी कम्पनीले गरेको थियो । कम्पनीले दाबी गरेअनुसार, मालवेयरका अधिकांश भाग एक्टिभेट गरिएका थिएनन् अर्थात् मालवेयरको सानो अनुपातले मुम्बईमा विद्युत् आपूर्ति ठप्प पारेको थियो ।
चीनको सरकारी समूह रेडइकोले मुम्बई विद्युत् आपूर्ति ठप्प गराएको हुन सक्ने उक्त कम्पनीको दाबी छ ।