
काठमाडौं, ७ जेठ - आंशिक प्राध्यापकले माग पुरा नभएको विरोधमा त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पठनपाठन बन्द अर्थात पेन डाउन गराएका छन् । यसअघि सरकार र त्रिभुवन विश्वविद्यालयले आफुहरुसंग तीनपटक गरेका सम्झौता कार्यान्वयन नगरेकोमा हिजो र अस्ति प्रधानमन्त्री निवास बाहिर धर्ना दिएपनि प्रधानमन्त्रीले चासो नदिएको भन्दै आजदेखि आंगिक क्याम्पसमा नपढाएको संघका अध्यक्ष शशीकुमार शर्माले जानकारी दिए ।
आज त्रिभुवन विश्वविद्यालयका ६० वटा आंगिक क्याम्पसमा आंशिक प्राध्यापकले अध्यापन नगराएको र माग पुरा नभएसम्म अध्यापन नगराउने उनले बताए । देशभरिका १ हजारभन्दा धेरै क्याम्पसमा आंशिक प्राध्यापकले पेनडाउन गर्दा त्रिविका आंगिक क्याम्पसको पठनपाठन प्रभावित भएको छ ।
बर्षौदेखि पढाइरहेका आंशिक प्राध्यापकलाई प्रक्रिया पुरा गरेर करार गर्नुपर्ने लगायत माग पुरा गर्नुपर्ने संघका मागमा सरकारले २०६५ सालयता तीनपटक सम्झौता गरेपनि माग पुरा नगरेकाले दुई दिनसम्म शान्तिपुर्ण धर्ना दिदांपनि प्रधानमन्त्रीले चासो नदिएपछि पेन डाउन गर्नुपरेको संघका सदस्य नारायण कोइरालाले बताए ।
आन्दोलनमा तीनवटा प्राध्यापक संघको ऐक्येबद्धता यसैबिच प्राध्यापकका तीनवटा संघसंगठनले आंशिक प्राध्यापक संघका मागमा ऐक्यबद्धता जनाएका छन् । प्रजातन्त्रबादी प्राध्यापक संघ, प्रगतिशिल प्राध्यापक संघ र राष्ट्रिय प्राध्यापक संगठनले आंशिक प्राध्यापक संघको मागमा ऐक्यवद्धता जनाएका हुन् ।
आज धर्नास्थलमा पुगेर प्रजातन्त्रबादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना र महासचिव राजेन्द्र गौतम, प्रगतिशिल प्राध्यापक संघका अध्यक्ष प्राध्यापक यादवप्रकाश लामिछाने र राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष रमेश भट्टराईले घर्नास्थलमै पुगेर आंशिक प्राध्यापक संघका मागमा ऐक्यबद्धता जनाएका हुन् ।
सरकारले आफैले गरेका सहमति कार्यान्वयन नगरेर प्राध्यापकको बौद्धिक शोषण गरेकाले तत्काल प्रक्रिया पुर्याएर उनीहरुका माग पुरा गर्नुपर्ने तीनवटै प्राध्यापक संघका अध्यक्षहरुले बताए ।