
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा तैनाथ विभिन्न देशका युनिटहरूमध्ये सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयू–१) सर्वोकृष्ट ठहरिएको छ ।
अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङ्गको नेतृत्वमा गठित ४ सदस्यीय कार्यसम्पादन परीक्षण तथा मूल्यांकन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफपीयूमध्ये राजधानी जुवामा तैनाथ नेपाल एफपीयू–१ लाई सर्वोकृष्ट युनिट घोषणा गरेको हो ।
समितिले तयार पारेको कार्यसम्पादन परीक्षण तथा मूल्यांकन प्रतिवेदनमा नेपाल एफपीयूले शतप्रतिशत नतिजा प्राप्त गरी हालसम्मकै सर्वोत्कृष्ट हुन सफल भएको युनिटका कमाण्डिङ अफिसर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुमार न्यौपानेले बताए ।
कुनै पनि मिसनमा तैनाथ एफपीयूहरूबीच विभिन्न विधामा मूल्यांकन गरी उत्कृष्टता छनोट गर्ने कडीको रूपमा लिइने मूल्यांकनलाई एफपीयूले प्राप्त गर्ने प्राप्तांकका आधारमा उत्कृष्ट छनोट गर्ने गरिएको छ ।
आन्तरिक प्रतिस्पर्धामा समावेश गरिएका ८ विधाहरू क्रमशः मिसन कार्यादेशको ज्ञान र समर्थन, कमाण्ड एण्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेसनल रेडिनेस र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारी रहेका छन् ।
प्रत्येक विधामा अधिकतम ४/४ अंकका दरले ३२ पूर्णांक छुट्याइएको थियो । १८ फेब्रुअरी सन् २०२१ मा लिइएको परीक्षण तथा मूल्यांकनमा नेपाल एफपीयू–१ ले ३२ अंक नै ल्याउन सफल भएको छ ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेले नेतृत्व गरिरहेको डप्फामा डिपुटी कमाण्डिङ अफिसर सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) शिवप्रसाद गैहे, चिफ लजिस्टिक अफिसर सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) रामजंग पाण्डे र चिफ अप्रेसन अफिसरको जिम्मेवारीमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अरुणकुमार शर्मा रहेका छन् ।
एफपीयूमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरू कार्यरत छन् । शान्ति प्रक्रिया सातौं डप्फाको रूपमा सन् २०२० को फेब्रुअरी ९ तारिखमा सुडानमा तैनाथ सशस्त्र प्रहरी बल नेपालको टोलीले कोराना कहरको समयमा समेत विचलित नभई आफूलाई प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गरेको तथा कमाण्ड स्टाफ र सकल दर्जाका कर्मचारीको अथक मेहनतका कारण पनि अन्य एफपीयूलाई पछि पार्न सफल भएको कुरा कमाण्डिङ अफिसर न्यौपानेले बताए ।
हाल दक्षिण सुडानमा रहेका एफपीयूमा नेपालको तर्फबाट २ वटा, रुवन्डाको ३ वटा र घानाको १ गरी जम्मा ६ वटा एफपीयूहरू कार्यरत रहेका छन् । शान्ति प्रक्रियामा रहेको यस राष्ट्रमा सन् २०२३ डिसेम्बरमा आमनिर्वाचन हुन गइरहेको छ ।
यसैक्रममा एफपीयूको संख्यामा कटौती गरी इन्डिभिजियल प्रहरीको संख्या वृद्धि गर्ने योजनाका साथ अगाडि बढिरहेको परिप्रेक्ष्यमा यस रिपोर्टलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।