२५ असार २०८३, बिहीबार

दुर्गम क्षेत्र जोड्ने सडक बनेपछि बाजागाजासहित उद्घाटन

फागुन १८, २०७७
दुर्गम क्षेत्र जोड्ने सडक बनेपछि बाजागाजासहित उद्घाटन
प्रतिकात्मक तस्वीर

म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकामा गौरवको आयोजनाको रूपमा सञ्चालन भएको दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमङ्गले सडकको उद्घाटन गरिएको छ ।

गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमङ्गले सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भीरमा पुगेर रोकिएको सडक गाउँपालिका र जलविद्युत् निर्माण गर्ने तुँदीपावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विस्फोटक पदार्थको सहायताले सडकको ट्रयाक निर्माणले पूर्णता पाएको थियो ।

सडकको ट्रयाक निर्माण भएर नियमितरूपमा सवारी वारपार गर्न थालेसँगै सोमवार समारोह आयोजना गरी बाजागाजासहित सडकको उद्घाटन गरिएको हो ।

गलेश्वरदेखि कुइनेमङ्गलेसम्म ३६ किलोमिटर सडकको ट्रयाक निर्माणमा स्थानीय सरकारसँगै संघीय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ । विकट बस्ती दर्मिजा, चिमखोला कुइनेमङ्गले सडक सञ्जालसँग जोडिएपछि स्थानीयले बाजागाजासहित खुशीयाली मनाएका छन् ।

सोमवार गाउँपालिकाको वडा नम्बर ४ दर्मिजामा बाजागाजा र नाचगानसहित सडकको उद्घाटन गरिएको छ । सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती दर्मिजा, चिमखोला र कुइनेमङ्गले क्षेत्रका नागरिकले यातायातको सुविधा लिन पाएका छन् । वडा नम्बर ४ दर्मिजाका ९६ वर्षीय ज्येष्ठ नागरिक दलबहादुर गर्बुजा, वडा नम्बर ८ कुइनेमङ्गलकी ९३ वर्षीया उडिमा कमिनी र वडा नम्बर ७ चिमखोलाकी १० वर्षीया बालिका लिस्मा पुनले सडकको संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

अक्करे पहाड अजिङ्गर भीरमा रोकिएको सडकलाई ३ वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, संघ र जलविद्युत् निर्माण गर्ने कम्पनीसँगको साझेदारीमा सडकको ट्रयाक निर्माण सम्भव भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ‘प्रभावित ३ वटै वडाबाट यस वर्ष गौरवको योजना यसै योजनामा परिचालन भयो, गाउँपालिकाको पहलमा २ जलविद्युत् आयोजनाले समेत साझेदारी गरेपछि अन्ततः सडकको ट्रयाक निर्माणले पूर्णता पायो, आगामी दिनमा सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउनतर्फ हाम्रो पहलकदमी रहने छ,’ अध्यक्ष भण्डारीले भने ।

आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म यस सडक खण्डमा १७ करोड रुपैयाँभन्दा बढी बजेट खर्च भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँपालिका, प्रदेश र संघीय सरकारबाट यस सडकखण्डमा कूल ४ करोड ५ लाख ७२ हजार ६८७ खर्च भएको जानकारी दिए । त्यसमध्ये गाउँपालिबाट ३ करोड ६२ लाख ६० हजार ७५६, प्रदेश सरकारबाट २१ लाख ५४ हजार ४६६ रुपैयाँ र संघीय सरकारमार्फत स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत २१ लाख ५७ हजार ४६५ रुपैयाँ खर्च भएको छ भने गाउँपालिका अध्यक्ष भण्डारीले समेत व्यक्तिगतरूपमा १० लाख रुपैयाँ परिचालन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्