काठमाडौं, ८ जेठ— काठमाडौं महानगरपालिकामा मतगणना जारी रहँदै गर्दा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रतालाई निकै फराकिलो पारेका छन् । मतगणनाको ताजा अपडेट अनुसार शाक्य आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा ८ हजार ७ सय ६१ मतले अघि देखिएका छन् ।
शाक्यले २९ हजार १ सय २९ मत प्राप्त गर्दा जोशीले २० हजार ३ सय ६८ मत पाएका छन् । पछिल्ला मतपरिणाममा शाक्यले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार विवेकशिल नेपालीकी उम्मेदवार रञ्जु दर्शनाले ११ हजार २ सय ५७ मत पाएकी छिन् भने साझा पार्टीका किशोर थापाले ८ हजार ५ सय २३ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तमदास डंगोल भने ३ हजार १ सय ६० मतमा सीमित छन् ।