
बहुमत प्राप्त दल नेकपाको झगडाका कारण संसद्ले नयाँ सरकार नदिने अवस्था आए निकास दिन कांग्रेस तयार देखिएको छ । यद्यपि औपचारिक निर्णय भने भइनसकेको कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता रमेश लेखकले लोकान्तरसँग बताए ।
‘नेकपाको झगडाले सरकार नबन्ने अवस्था आयो भने विकल्प दिन हामी तयार छौं,’ नेता लेखकले लोकान्तरसँग भने ‘संसदीय व्यवस्थामा मेन अपोजिसन भनेको वेटिङ गभर्मेन्ट हो ।’
पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीवार बस्दैछ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजेपछि बस्ने बैठकमा प्रतिनिधि सभा पुनःस्थापना भएपछि कांग्रेसले लिने नीतिको विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
बैठकमा मुख्यतः नयाँ सरकार बनाएर अघि बढ्न नेकपा प्रचण्ड–नेपाल समूहले गरेको प्रस्तावका बारेमा छलफल हुने स्रोतले बतायो ।
सभापति शेरबहादुर देउवाले कांग्रेसको काँधमा सरकारको जिम्मेवारी आए नभाग्ने प्रतिक्रिया दिएका थिए । देउवाको सो अभिव्यक्तिपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने आकलन गर्न थालिएको छ ।
कांग्रेसले नेकपा प्रचण्ड–नेपाल पक्षसँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने समेत तयारी गरेका स्रोतको भनाइ छ । केन्द्रीय सदस्य लेखकले भने अविश्वासको प्रस्ताव बारे कुनै निर्णय नभएको दाबी गरे ।
तर स्रोतका अनुसार पदाधिकारी बैठकमा अविश्वासको प्रस्तावबारे समेत छलफल हुनेछ । संसद्मा कसरी प्रस्तुत हुने भनेर कांग्रेसले भोलि दिउँसो संसदीय दलको बैठक पनि बोलाएको छ ।