
फागुन २ गते कैलालीको गौरीगंगा नगरपालिका– ५ की कला धामीले बाघको आक्रमणमा परी ज्यान गुमाइन् ।
बाख्राका लागि घाँसपात गर्न छिमेकीसँग जंगल गएकी २५ वर्षीया धामी कहिल्यै नफर्किने गरी हराइन् । उनी अस्ताएपछि उनका ४ सन्तानको बिजोग भएको छ ।
स–साना बालबालिका अहिले आमा भन्दै रुने र घरवरिपरि आमालाई खोज्ने गर्दछन् । मृतक कलाकी सासु जानकी धामीले भनिन्, ‘घाँस काट्न भनेर गएकी थिएँ, तर बाघले ज्यान लियो, केटाकेटीहरू अझै बाटो हेरिरहन्छन् ।’
९ महिनाअघि ऋण गरेर रोजगारीका लागि कतार गएका मृतकका श्रीमान् गणेशबहादुर धामी बाघको आक्रमणमा परेर श्रीमतीको मृत्यु भएको खबर सुनेपछि घर फकिएका छन् । एकातिर परदेश जाँदाको ऋण त्यस माथि श्रीमतीको निधनले उनी मर्माहत छन् ।
‘ऋण खोजेर कमाउन भारत गएको थिएँ’, उनले भने, ‘गएको ९ महिना मात्रै भएको थियो । ऋण तिर्दै थिए, यता श्रीमतीको मृत्यु भएपछि घर फर्किए । अब ४ सन्तानको पालनपोषण र स्याहार कसरी गर्ने चिन्तित छु ।’
श्रीमतीको मृत्युपछि गणेश बहादुरलाई सान्त्वना दिने र हालखबर सोध्नेहरूको भीड भएपनि अहिलेसम्म कुनै पनि निकायबाट सहयोग नभएको उनको भनाइ छ ।
गरीब परिवार, त्यसमाथि अब गणेशबहादुर एक्लैको काँधमा ४ सन्तानको जिम्मेवारी थपिएको छ । न साना सन्तानलाई कसैको भर छोड्न सक्छन्, न सन्तान छाडेर कमाउन टाढा जान सक्छन् । स्थानीय करन धामीले भने, ‘सबैले सक्दो सहयोग गरिदिएहुन्थ्यो ।’
वनले दिने घोषणा गरेको १० लाख अझै पाइएन
बाघको आक्रमणबाट महिलाको ज्यान गएपछि पीडित परिवारले राहतसम्म पाएका छैनन् ।
गौरीगङ्गा नगरपालिकाले राहत प्रदानमा उदासीनता देखाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले भने, ‘हामीले आवश्यक परेमा सामान्य सहयोग गर्न सक्छौं । तर त्यसका लागि पनि प्रक्रिया छ । पीडितले निवेदन दिनुपर्यो र त्यसलाई वडा कार्यालयले स्वीकृति प्रदान गर्नुपर्यो । अहिलेसम्म पीडितले निवेदन दिएका छैनन्, निवेदन आएमा हामी सक्दो सहयोग गर्छाैं ।’
वन कार्यालयले भने पीडित परिवारलाई १० लाख क्षतिपूर्तिको घोषणा गरेको छ । महिलाले ज्यान गुमाएको एक सातामै क्षतिपूर्ति घोषणा गरेको वन कार्यालयले हालसम्म रकम भने उपलब्ध गराएको छैन ।
जिल्ला डिभिजन वन अधिकृत रामचन्द्र कंडेलले क्षतिपूर्ति प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बताए ।
‘हामीले १० लाख क्षतिपूर्ति दिने घोषणा गरेका छौं’, उनले भने, ‘त्यो प्रक्रिया अन्तिम चरणमा छ । क्षतिपूर्ति पाउनलाई घटनास्थलको मुचुल्का, प्रहरी मुचुल्का र पीडितको निवेदन आवश्यक पर्छ । पीडित पक्षबाट त्यो प्राप्त भइसकेको छ । हामी वितरणको अन्तिम तयारीमा छौं ।’
पाटेबाघको आक्रमणबाट माघ अन्तिम साता कैलारी गाउँपालिका–८ दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरी पनि घाइते भएका थिए । घाइते चौधरीलाई पनि दुई लाख क्षतिपूर्ति प्रदान गर्ने तयारी भइरहेको प्रमुख कँडेलले बताए ।
‘यथाशीघ्र पीडित परिवारले रकम पाउनुपर्छ,’ उनले भने, ‘घाइते भएका परिवारले पनि दुई लाख पाउँछन् । यी घटनालाई म आफैँ हेर्छु, फागुन महिनाभित्रै पीडितले क्षतिपूर्ति पाउँछन् ।’
बाघको आक्रमणमा परी घाइते भएका चौधरीलाई उपचारमा समस्या भएको छ भने ज्यान गुमाएकी धामीका सन्तानको बिचल्ली भएको छ।
स्थानीय त्रसित
कैलालीका सामुदायिक वनमा घुमिरहेको बाघले स्थानीयलाई त्रसित बनाएको छ । कहिले किसानको केराबारी त कहिले सामुदायिक वनमा बाघ देखा पर्ने गरेको छ ।
गौरीगङ्गा नगरपालिकाको सडक क्षेत्रमा सावधान भन्दै बाघको तस्वीरसहितको पम्प्लेट टाँसिएको छ । बाघको त्रासले पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गतको सडकमा हिँडडुल निकै पातलिएको छ ।
मोटरसाइकलमा समेत यात्रा गर्न नागरिकहरू डराउन थालेका छन् । सुखडका सुरज विष्टको धनगढी महेन्द्रनगरमा दैनिकजसो काम परिरहन्छ ।
सधैँजसो मोटरसाइकलमै यात्रा गर्ने उनी अचेल भने सार्वजनिक सवारी साधन चढ्छन् । उनी त केवल प्रतिनिधि पात्र मात्र हुन्, सडकमा यात्रा गर्न यात्रु मात्र डराएका छैनन्, गौरीगंगा नगर बासी एक ठाउँबाट अर्को ठाउँ जान डराउँछन् ।
‘निकै त्रसित बनेका छौं’, गौरीगंगा अन्डैयाका अरुण थापाले भने, ‘बाघ किसानको बारीमै देखा पर्न थाल्यो, ज्यान जोगाउनै समस्या भइरहेको छ ।’
‘नियमित जसो घाँस दाउरा गर्न स्थानीय जङ्गल जाने महिलाहरू पनि बाघको त्रासले अचेत मेलापातमा जाँदैनन्,’ स्थानीय सीता बोहराले भनिन्, ‘घरमा बाख्राहरू छन्, स्याउला लिन जान्थेउँ, तर बाघले ज्यानै लिन थालेपछि जंगल गएका छैनौं । घरआगन र खेतकै घाँस दाउरा बाख्रालाई खुवाउँछौं ।’
क्यामेरा ट्र्याकिङमा अन्य बाघहरू पनि देखिएकाले यस सामुदायिक वनमा बाघले आफ्नो पुर्खौली बासस्थानको रूपमा ग्रहण गरेको सामुदायिक समन्वय समिति अध्यक्ष ओमप्रकाश सापकोटाले बताए ।
‘मसुरिया क्षेत्र मुख्यगरी राजघाट क्षेत्र, तालबन्द क्षेत्र र अन्डैया क्षेत्रमा बाघ पहिलेदेखि नै बस्दै आएको थियो,’ उनले भने, ‘प्राय बाघहरू भारतको दुधुवा नेसनल पार्क हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् । मसुरिया क्षेत्रमा वर्षौँदेखि बाघ बसोवास गर्दै आएको भएपनि पछिल्लो समयमा बाहिर गएका बाघ पुनः पुस्तैनी बाटो हुँदै आफ्नै ‘एरियामा’फर्कन थालेका हुन् ।’
चोरी तस्करीले गर्दा बाघको आहार सकिएपछि गाउँघरतिर गएको हुन सक्ने सब डिभिजन वन कार्यालय मसुरियाका सहायक वन अधिकृत चन्द्र भण्डारीले बताए ।